१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

हाम्रो पात्रोबाट भिडियो कल र नेपाली भाषामा सन्देश पठाउन मिल्ने

 १ माघ, काठमाडाैँ । लोकप्रिय एप्लिकेशन ‘हाम्रो पात्रो’ ले अडियो, भिडियो कल र म्यासेज सेवा सुरु गरेको छ । कम्पनीले एन्ड्रोइड प्रयोगकर्ताका लागि इन्स्ट्यान्ट म्यासेजिङ सेवाको रुपमा ‘हाम्रो म्यासेज सञ्चालनमा ल्याएको हो ।आईओएस प्रयोगकर्ताको लागि भने तत्कालका लागि यो सेवा उपलब्ध भइसकेको छैन। हाल आईओएसका लागि आन्तरिक टेस्टिङको काम चलिरहेको भन्दै हाम्रो पात्रोका संस्थापक शंकर उप्रेतीले आउँदो मार्चसम्म लाइभ गर्ने योजना रहेको जानकारी दिए ।

यससँगै भाइबर, ह्वाट्सएप, इमो, म्यासेञ्जर लगायतका एपहरुको बीचमा हाम्रो पात्र पनि विकल्प बनेको छ। यो सेवा उपयोग गर्नको लागि हाम्रो पात्रोका प्रयोगकर्ताले आफ्नो मोबाइल साइन अप गर्नुपर्ने हुन्छ।यसमा प्रयोगकर्ताको गोपनीयताका लागि ‘इन्ड टु इन्ड इन्क्रिप्सन’ फिचर प्रयोग गरिएको छ । यसको अर्थ हाम्रो म्यासेज अन्तर्गत हुने अडियो तथा भिडियो कुराकानी वा च्याटमा सम्बन्धित प्रयोगकर्ता बाहेकको अन्य कसैको पनि पहुँच हुने छैन । यतिसम्म कि हाम्रोपात्रोले चाहेको अवस्थामा समेत प्रयोगकर्ताको म्यासेज हेर्न सक्ने छैन ।

हाल यसमा अडियो तथा भिडियो कल गर्न सकिने, च्याट गर्न तथा फोटो र स्टिकरहरु पठाउन सकिने फिचर उपलब्ध छ । हाम्रो म्यासेज सेवा प्रयोग गर्दा अन्य एपको भन्दा डेटा खपत समेत कम हुनेछ । एप अंग्रेजी तथा नेपाली दुवै भाषामा प्रयोग गर्न सकिने जनाइएको छ ।

संस्थापक उप्रेतिका अनुसार हाम्रो म्यासेज सेवा हाललाई नेपाल सहित भारत, अमेरिका, यूएई, जापान, अस्ट्रेलिया, क्यानडा, दक्षिण कोरिया, मलेसिया, न्युजिल्याण्ड, कतार, साउदी अरब र यूके मा प्रयोग गर्न सकिन्छ। अबको दुई तीन सातामा अन्य देशमा रहेका प्रयोगकर्ताका लागि यो सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

एपमा भिडियो कल गर्दा इन्टरनेटको ब्याण्डविथ अनुसार गुणस्तर घटबढ हुने गरी एडप्टिभ बनाइएको कपनीले जनाएको छ। हाम्रो म्यासेज सेवासँगै हाम्रो पात्रोको इन्टरफेस तथा डिजाइन समेत परिवर्तन गरिएको कप्पनीले जनाएको छ। कम्पनीका अनुसार धेरै सामग्री एकै स्थानमा हुँदा खोज्न गाह्रो भएको प्रयोगकर्ताको गुनासो सम्बोधन गर्न यसो गरिएको हो ।

प्रकाशित मिति : January 14, 2021 at 7:22 pm