१२ श्रावण २०८३, मंगलबार | Wed Jul 29 2026

राष्ट्रपतिविरुद्ध अराजक नाराबाजी गर्नेलाई कारबाहीको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र

१९ पुस, काठमाडाैँ । अखिल नेपाल महिला संघ (अनेमसंघ) ले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि अशोभनिय र अराजक नाराबाजी गर्नेहरु बिरुद्ध कारबाहीको माग गर्दै गृहमन्त्री समक्ष ज्ञापन पत्र बुझाएको छ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ओली पक्षको अखिल नेपाल महिला संघ(अनेमसंघ)ले आइतबार गृहमन्त्री रामबहादुर थापा समक्ष ज्ञापनपत्र बुझाउँदै विभिन्न सार्वजनिक कार्यक्रम, भेला, जुलुस तथा सामाजिक सञ्जालबाट राष्ट्रपतिलाई गालि गलौज गर्नेहरु बिरुद्ध कानुनी कारबाही गर्न माग गरेको हो ।

लोकतन्त्रमा असन्तुष्ट पक्षहरुले सभा जुलुस गर्ने तथा आफ्नो बिचार अभिव्यक्त गर्ने स्वतन्त्रता भएपनि प्रधानमन्त्री र राष्ट्रपतिको विरुद्धमा अमानविय, अर्मयादित, अशोभनिय तथा अराजक अभिव्यक्ति आएको भन्दै अनेमसंघले आपत्ति जनाएको छ । ज्ञापन पत्र बुझ्दै गृहमन्त्री रामबहादुर थापाले राष्ट्रपति माथि अशोभनिय र अर्मयादित विषय उठाइएको प्रति सरकारको ध्यानाकर्षण भएको बताउनुभएको छ । उहाँले सम्बन्धित निकायलाई छानविन गरी कारबाही गर्ने निर्देशन दिएको पनि बताउनुभयो ।

नाराबाजी गर्ने विरुद्ध कानुनी कारबाही गरिनुपर्ने अन्यथा आफुहरु नै कानुनी प्रक्रियामा जाने अनेमसंघकी नेतृ सर्मिला कार्कीले बताउनुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पौष ५ गते प्रतिनिधि सभा विघटन गरेसँगै विभिन्न राजनीतिक दलहरु सरकारको असंवैधानिक कदम भन्दै आन्दोलित भएका छन् । आन्दोलनमा प्रधानमन्त्री र राष्ट्रपति विरुद्ध नारावाजि हुने गरेको छ ।

प्रकाशित मिति : January 3, 2021 at 11:53 am