१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

एसईई परीक्षा जेठमा गर्ने तयारी, खुल्यो रजिस्ट्रेसन फारम

१६ पुस, काठमाडौँ । यस वर्षको एसईई परीक्षा आगामी जेठमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले जेठ महिनामा एसईई सञ्चालन गर्न सक्ने गरी तयारी शुरू गरेको छ । बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले अहिले सम्मकाे अवस्था हेर्दा जेठमा परीक्षा सञ्चालन गर्न सकिने बताए । ‘बिदा कटौती गरि कक्षा सञ्चालन गरेर  जेठसम्ममा परीक्षा लिनु पर्दछ ‘त्यसो नगर्दा शैक्षिक सत्र खेर जान सक्छ उनले भने ।’

कोरोना संक्रमणका कारण गत वर्ष एसईई सञ्चालन हुन सकेन । त्यस्ताे अवस्था दोहोरिन नदिन बेलैमा तयारी तीव्र बनाउनु पर्ने अध्यक्ष पौडेल बताउँछन् । सरकारले यस पटक शैक्षिक सत्र कहिले शुरू हुने र कहिले सकिने भन्ने स्पष्ट नीतिगत निर्णय गरेको छैन । विगतमा वैशाखमा शैक्षिक सत्र शुरू भएर चैतमा सकिने भए पनि यस वर्ष कोरोना संक्रमणका कारण विद्यायय खुल्न नसक्दा शैक्षिक सत्र समेत यकिन हुन सकेको छैन ।

यस बर्षकाे एसईई परिक्षामा  सहभागी हुनका लागि बोर्डले आवेदन आह्वान गरेको छ । परीक्षामा सहभागी हुन चाहने विद्यार्थीले पुस १६ गते देखि माघ २१ गते सम्ममा रजिस्ट्रेसन फाराम भर्नुपर्ने पौडेलले जानकारी दिए । सम्बन्धित विद्यालयले आफ्ना विद्यार्थीको नामथर, जन्ममिति, आमाबाबुको नाम रुजू गरेर माघभित्र रजिस्ट्रेशन शूल्क सहित शिक्षा विकास तथा समन्वय इकाईमा बुझाउनु पर्नेछ ।  विगतमा साउनमै रजिस्ट्रेसन फाराम खुले पनि यसपटक काेराेनाका कारण पुसमा सरेको हो ।

प्रकाशित मिति : १६ पुष २०७७, बिहीबार १०:४८