१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

उखु किसानको रकम भुक्तानी नदिने चिनी उद्योगीलाई पक्राउ गरिने

१ पुस, काठमाडौँ । उखु किसानको रकम भुक्तानी नदिने ६ वटा चिनी मिलका सञ्चालकलाई सरकारले पक्राउ गर्ने निर्णय गरेको छ । काडमाडौँको माइतीघर मण्डलामा आइतबारदेखि  आन्दोलनरत उखु किसानको मागलाई सम्बोधन गर्न मङ्गलबार गृह मन्त्रालयमा बसेको  बैठकले यस्तो निर्णय गरेको हो ।

गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बसेको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठी र कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसाल सहभागी हुनुहुन्थ्यो ।

उखु किसानको ६० करोड रुपियाँभन्दा बढी रकम भुक्तान नगर्ने चिनी मिलका सञ्चालकलाई पक्राउ गर्ने निर्णय भएको गृहमन्त्री थापाका प्रेस संयोजक किरण भट्टराईले बताएका छन्  । उखु किसानको रकम भुक्तान नगर्ने चिनी मिलका सञ्चालकलाई पक्राउ गर्नका लागि मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई समेत निर्देशन दिएको जनाइएको छ ।

हाल बन्द रहेका चिनी मिल बिक्री गरेर भए पनि रकम पाउनुपर्ने माग किसानले गरेका छन् । गृह मन्त्रालयका अनुसार रौतहटको श्रीराम सुगर मिल, सर्लाहीको महालक्ष्मी सुगर मिल र अन्नपूर्ण सुगर मिल, नवलपरासीको लुम्बिनी चिनी मिल, इन्दिरा सुगर मिल, बागमती खाँडसरी मिलले किसानको रकम भुक्तानी गर्न सकेका छैनन् ।

प्रकाशित मिति : December 16, 2020 at 7:52 am