काडमाडौँ उपत्यकामा यो वर्षको अहिलेसम्मकै कम तापक्रम, तराईका जिल्लामा दिनभर हुस्सु लाग्ने
३० मंसिर, काठमाडाैँ । काडमाडौँ उपत्यकामा आज यो वर्षको अहिलेसम्मकै कम तापक्रम मापन भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मंगलबार बिहान ६ बजेको काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस मापन भएको छ। यो तापक्रम यस वर्षको अहिलेसम्मकै कम भएको मौसमविद गंगा नगरकोटीले जानकारी दिइन्।
हिजो काडमाडौँको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस थियो । तत्काल मौसम बद्ली भएर बादल लाग्ने सम्भावना नरहेकाले न्यूनतम तापक्रम घट्न सक्ने मौसमविद्ले बताएका छन् ।

आज काडमाडौँको अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियसम्म पुग्ने अनुमान छ । बिहान चिसो भए पनि दिउँसो घाम लाग्ने हुँदा दिउँसोको समयमा भने तातो न्यानो हुनेछ । आज काडमाडौँ उपत्यकासहित देशका पहाडी क्षेत्रको मौसम सफा रहने अनुमान गरिएको छ ।
अहिले बिहान तराईका अधिकांश भूभागमा कुहिरो र हुस्सु लागेको छ। पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले प्रदेश २ तथा बागमती प्रदेशमा आज आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने मौसमविद नगरकोटीले बताइन्।
मंगलबार राति प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका भूभागहरुमा आंशिक बदली हुनेछ। बाँकि भेगमा मौसम सफा रहनेछ बताइएको छ।
प्रकाशित मिति : December 15, 2020 at 8:11 am



