१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

कोभिड-१९ को साझा चुनौति सामना गर्न साझा प्रयास आवश्यकः शिक्षामन्त्री पोखरेल

२१ मंसिर, काठमाडौँ । कोभिड–१९ पछिको शिक्षाका चुनौती र विश्व अनुभवको आदानप्रदान गर्ने उद्देश्यले नेपाल खुला विश्वविद्यालय र संयुक्त राज्य अमेरिकाको मोर्गन स्टेट विश्वविद्यालयको आयोजनामा आजदेखि भर्चुअलरुपमा ‘२०२० स्टार कन्फरेन्स’ विषयक दुईदिने सम्मेलन शुरु भएको छ ।

‘शेपिङ अ ह्युमान वल्र्ड ग्लोबल पस्र्पेक्टिभ अन हाइअर एजुकेशन’ विषयक सो सम्मेलनको उद्घाटन कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोभिड–१९ महामारीले उत्पन्न गरेको सङ्कट विश्वका सबै धनी र मुलुकका लागि समान भएकाले साझा चुनौतीको सामना गर्न साझा प्रयास गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले महामारीपछि सरकारले सूचना, सञ्चार र प्रविधिमा आधारित वैकल्पिक प्रणालीको सिकाइलाई निरन्तरता दिएको र जोखिम कम भएका स्थानमा सामाजिक दूरी कायम गरी प्रत्यक्ष पढाइ शुरु भएको जानकारी दिनुभयो ।

मन्त्री पोखरेलले नेपालले शैक्षिक सत्रलाई खेर जान नदिने गरी प्रबन्ध गरेको उल्लेख गर्दै सूचना र प्रविधिमा आएका नवीन आयाम र परिवर्तनलाई आत्मसात् गरी उच्च शिक्षालाई अनुसन्धनात्मक तथा नवप्रवर्तनात्मक बनाउन आवश्यक रहेको बताउनुभयो ।

खुला विश्वविद्यालयका उपकुलपति प्रा डा लेखनाथ शर्माका अनुसार सम्मेलनमा अमेरिका, न्यूजिल्याण्ड, नेपाललगायतका विज्ञहरुको सहभागिता रहेको छ । सम्मेलनमा उच्च शिक्षाको नेतृत्व, शिक्षण पद्धति, कोभिड–१९ पछिको चुनौती आदिबारे छलफल हुनेछ । सो विश्वविद्यालयका रजिष्ट्रार कमलराज ढकालले आफूहरुले विश्वका विभिन्न विद्यालयहरुसँग सहकार्य बढाउन चाहेको बताउनुभयो ।

प्रकाशित मिति : २१ मंसिर २०७७, आईतवार १३:२८