१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

विकासमा कसैले अवरोध गरे मलाई भन्नूसः मन्त्री पुन

१९ मंसिर, काठमाडाैँ । ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले कोभिड––९ महामारीको समयमा समेत मन्त्रालयको प्रगति सन्तोषजनक देखिएको भन्दै खुसी व्यक्त गर्नुभयो । उहाँले प्रथम चौमासिकमा देखिएको कमजोरी आगामी चौमासिकमा नदोहोरिने गरी काम गर्न मातहतका सबैलाई निर्देशन दिनुभयो । ‘कोरोना महामारीको संवेदनशील अवस्थामा समेत ७८ प्रतिशत वित्तिय र झण्डै ७८ प्रतिशत नै भौतिक प्रगति हुनु खुसीको कुरा हो’, मन्त्री पुनले भन्नुभयो, ‘आगामी दिनहरुमा मन्त्री, सचिव, विभागीय प्रमुख सबै मिलेर यो भन्दा राम्रो प्रगति देखिने गरी काम गरौं ।’

मन्त्री पुनले विकास निर्माणका काम गर्दा भरसक स्थानीय र प्रभावितलाई लाभ हुने मिल्ने गरी काम गर्न निर्देशन दिनुभयो । मुआब्जा वितरण अगावै ठेक्काको सूचना निकाल्ने, शिलान्यास गरिहाल्ने र कोठाभित्रै बसेर आयोजना बनाउने काम अब बन्द हुनुपर्ने उहाँको भनाइ थियो । ‘विगतमा इआइए नगरी, जमिनको मुआब्जा टुंगो नलगाइ ठेक्का दिने, शिलान्यास गरिहाल्ने र कोठामा बसेर योजना बनाउने गर्दा धेरै आयोजना अघि बढ्न सकेनन्’, मन्त्री पुनले भन्नुभयो, ‘तपाईं कर्मचारीको जागिर छ ।

बाबुबाजेको खेतबारी गए पनि मतलब हुँदैन । तर, २/४ गरा खेत भएका किसानको भएको जमिन सबै विकास आयोजनाले खाँदा ऊ भोकै पर्ने अवस्था हुन्छ, अनि ढुंगा हान्न आउँछ । त्यसैले जमिन गए पनि विकास आयोजनाको लाभ किसानले पाउने अवस्थामा कसैको अवरोध हुँदैन ।’ मन्त्री पुनले विकास आयोजनाको काममा स्थानीय जनप्रतिनिधि, राजनीतिक दल र प्रभावित जनताका कुरा अधिकमत सुन्ने र समस्या सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो ।

तर, समस्याप्रति गम्भीर भएर समाधान दिँदादिँदै नियतबस अवरोध भए बल प्रयोग गरेरै भए पनि काम अगाडि बढाउनुपर्ने उहाँले स्पष्ट गर्नुभयो । उहाँले विकासका काममा अवरोध भए समयमै आफूलाई खबर गर्न आग्रह गर्दै समाधान निकाल्न लागिपर्ने बताउनुभयो । ‘कसैले विकासका काममा अवरोध सिर्जना गरेको अवस्थामा मलाई भन्नूस्’, मन्त्री पुनले भन्नुभयो, ‘कोसँग कुरा गरेर समस्या समाधान गर्नुपर्ने हो म आफैं गएर समाधान गर्छु ।’

वर्तमान सरकार विगतको जस्तो संक्रमणकालीन नभएकाले विकासका काममा कुनै अप्ठेरो महसुस गर्नुपर्ने अवस्था नरहेको उहाँको भनाइ थियो । ‘यो विगतको जस्तो संक्रमणकालीन सरकार होइन, तीन वर्षदेखि प्रधानमन्त्री, अधिकांश मन्त्री र सचिवहरु हामी एउटै छौं’, उहाँले भन्नुभयो, ‘विगतका समस्या तेस्र्याएर भाग्ने कोसिस गर्ने छुट कसैलाई छैन ।’

कार्यक्रममा राष्ट्रि«य योजना आयोगका ऊर्जा र वन मन्त्रालय हेर्ने सदस्य डा. कृष्णप्रसाद ओलीले कोभिड–१९ महामारीमा समेत मन्त्रालयले काममा राम्रो प्रगति गरेकामा प्रशंसा गर्नुभयो । ऊर्जा सचिव दिनेशकुमार घिमिरे, जलश्रोत सचिव मधुसूदन अधिकारी र जल तथा ऊर्जा आयोजका सचिव सागरकुमार राईले विकास आयोजनामा विगतमा देखिने गरेका समस्या नदोहोरिने गरी काम गर्न मातहतलाई निर्देशन दिनुभयो ।

प्रकाशित मिति : December 4, 2020 at 7:04 pm