अस्पतालबाट भागेका सम्झना विकका हत्या आरोपी बोहरा पक्राउ, ३ प्रहरी निलम्बित
१९ मंसिर, काठमाडौँ । सम्झना विकको बलात्कारपछि हत्या आरोपी राजेन्द्र बोहरा आइसोलेसनमा भागेको करिब १० घण्टापछि प्रहरीले पक्रेको छ । बझाङको मष्टा गाउँपालिकाकी १२ वर्षीया सम्झना विकको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेर पुर्पक्षका लागि कारागार चलान भएका राजेन्द्र बोहरा फरार भए लगत्तै पुनः पक्राउ परेका छन्।

कोरोना पुष्टि भएपछि आइसोलेसनमा रहेका उनी बिहीबार राति १२ बजे भागेका थिए। पूर्वी चौकी गाउँपालिकास्थित शान्तिनगर जंगलमा लुकिरहेको अवस्थामा उनलाई शुक्रबार बिहान ७ बजे पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेश कुमार सिंहले जानकारी दिए।
उनको आइसोलेसनमा निगरानीका लागि खटिएका तीनजना प्रहरीलाई पनि निलम्बन गरिएको छ । अस्पतालमा खटिएका प्रहरीको लापरबाहीका कारण बोहरा फरार भएपछि प्रहरी सक्रियताकै कारण उनलाई समयमै पक्राउ गरिएको प्रहरीले जनाएकाे छ ।
प्रकाशित मिति : December 4, 2020 at 10:17 am



