१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

रक्सी खाएर छोरा लड्दा बोक्सी लगाएको भन्दै बुहारीमाथि कुटपिट

१९ मंसिर, दाङ । रक्सी खाइ लडेर घाइते भएकाे छोरालाई बोक्सी लगाएर विरामी बनाएको भन्दै बुहारीमाथि कुटपिट गर्ने जेठाजुलाई प्रहरीले पक्राउ गरेको छ। दाङ देउखुरीबाट इलाका प्रहरी कार्यालय गढवाको टोलीले आफ्नै भाईबुहारीलाई बोक्सीको आरोप लगाएर कुटपिट गरेको कसुरमा जेठाजु तिलकराम चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । पीडित महिलाको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पीडितका श्रीमान काममा गएका बेला मंसिर १५ गते दिउँसो  एक्लो पारेर चौधरीले आफ्नै बुहारीलाई बोक्सीको आरोप लगाई कुटपिट गर्दा स्थानीयले छुट्टाएपछि पीडित भागेर गाउँपालिकाको कार्यालय पुगेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

चौधरीले ४ वर्ष अगाडि देखि नै आफूलाई बोक्सी भन्ने गरेको र आफ्नै जेठाजु भएकाले सहेर बसेको पीडित महिलाले बताइन्। जेठाजुको छोरा रक्सी खाएर कल्भर्टबाट लडेर घाइते भएको र उनलाई अस्पतालमा औषधि गर्नुको बदला धामीकोमा झारफूक गर्न लगेर आफूलाई बोक्सी लागि भनेर आरोप लगाएको पीडित महिलाले बताइन् ।

चौधरीलाई दाङ-देउखुरी जिल्ला अदालतमा म्याद थप गरेर अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय गढवाका प्रमुख राजकुमार भट्टले जानकारी दिए। बोक्सीको आरोप लगाउने व्यक्तिलाई मूलूकी अपराध संहिता तथा फौजदारी कसुर सजाय–२०७४ मा ५ वर्षसम्म कैद र ५० हजारसम्म जरिवाना हुने कानुनी ब्यवस्था रहेको छ ।

प्रकाशित मिति : December 4, 2020 at 9:32 am