२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

कांग्रेसले नुवाकोटमा चिकित्सक देख्न मुस्किल बनायो अहिले अस्पताल भरिएको छः सांसद मैनाली

-प्रशान्तजंग पाण्डे

१६ मंसिर, नुवाकोट । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नुवाकोटका नेता एवं बागमती प्रदेशका सांसद बद्री मैनालीले कम्युनिष्टहरूले गाउँगाउँमा विकासको लहर सिर्जना गरेको बताउनुभएको छ । सोमबार नुवाकोटको ककनी गाउँपालिकामा ककनी अस्पतालको शिलान्यास कार्यक्रममा बोल्दै सांसद मैनालीले विकासको पूर्व आधार स्वास्थ्य, शिक्षा र सडकमा सरकारले धेरै काम गरिरहेको दाबी गर्नुभयो ।

उहाँले अब कोही पनि नागरिक स्वास्थ्य सेवाको पहुँच बाहिर रहनु नपर्ने भन्दै वर्तमान केपी ओली नेतृत्वको सरकारले कसैलाई भोकै बस्न नदिने कसैलाई पनि उपचारबिहीन हुन नदिने बताउनुभयो । उहाँले विगतमा कांग्रेसीहरूले स्वास्थ्य चौकीमा कार्यरत अहेवलाइ समेत काजमा तानेर काठमाडौँमा नेताको चाकरीमा लगाउने गरेको भन्दै अहिले नेकपाको सरकारले गाउँगाउँमा चिकित्सक र स्वास्थ्यकर्मी पठाएको बताउनुभयो ।

सांसद मैनालीले सरकारलाई धन्यवाद दिँदै छात्रवृतिमा चिकित्सक पढेकाहरू समेत सबैलाई उपत्यकाबाहिर काममा पठाएकोमा खुशी प्रकट गर्नुभयो । उहाँले भन्नुभयो ‘विगतमा नामको अघि डा झुण्डिएका व्यक्ति त्रिशुली अस्पतालमा देखिन कठिन हुन्थ्यो तर अहिले झण्डै दुइ दर्जन त्यस्ता चिकित्सकले दिनरात नभनी जनताको सेवा गरिरहेका छन ।’ उहाँले विगतमा जिल्ला अस्पताल त्रिशुलीमा समेत चिकित्सक देख्न मुस्किल रहेको भन्दै अहिले झण्डै दुइ दर्जना चिकित्सकले अस्पतालबाट सेवा दिइरहेको र जटिलखालका शल्यक्रिया समेत नुवाकोटमा भैरहेको बताउनुभयो ।

ककनीका जनता उपचारका लागि अब काठमाडौँ वा जिल्ला सदरमुकामसम्म पनि पुग्नुनपर्ने भन्दै दुइ वर्षमा शिलान्यास भएको अस्पताल बनेर सञ्चालनमा आउने बताउनुभयो । उहाँले बजेटहरू सुनिश्चित भैसकेका कारण अस्पताल निर्माणले तत्कालै गति लिने बताउनुभयो । सांसद मैनालीले जनताको बीचमा चुनावका समयमा गरेका बाचाहरू निरन्तर पूरा गर्दै सरकार अघि बढीरहेको बताउनुभयो । अस्पतालको शिलान्यास संघीय सांसद हितबहादुर तामाङ र सांसद मैनालीले संयुक्त रूपमा गर्नुभएको थियो । सो अवसरमा पाँच बेडको अस्थायी अस्पतालको उद्घाटन समेत गरिएको थियो ।

प्रकाशित मिति : १६ मंसिर २०७७, मंगलवार ०८:५६