सचेतना अपनाउँदै ढुक्क भएर परीक्षा दिनुस्ः शिक्षामन्त्री पोख्रेल
८ मंसिर, काठमाडाैँ । शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले कक्षा १२ को परीक्षा दिन लागेका विद्यार्थीहरुलाई कोरोना सम्बन्धी मापदण्ड सही ढंगले पालना गर्न र ढुक्क भएर परीक्षा दिन अनुरोध गरेका छन् । परीक्षा केन्द्रहरुमा भौतिक दुरी कायम गरी बस्ने, मास्क लगाउने, स्यानिटाइजर प्रयोग गर्ने, साबुनपानीले हात धुने जस्ता कोभिड सुरक्षण मापदण्ड कडाइपूर्वक पालना गर्नेलगायत परीक्षा सम्बन्धी आवश्यक सम्पूर्ण पक्षहरुको व्यवस्थापन गरिएको बताउँदै मन्त्री पोख्रेलले ढुक्क भएर परीक्षामा सहभागी हुन अनुरोध गरेका छन् ।
यस्तै परीक्षा केन्द्र वरपर भीडभाड नगर्न मन्त्री पोखरेलले अभिभावकसँग आग्रह पनि गरेका छन् । परीक्षाको सिलसिलामा विद्यार्थीलाई काेराेना संक्रमण पुष्टि भएर परीक्षामा सहभागी हुन नसक्ने अवस्था आएमा फेरि परीक्षा दिन पाउने व्यवस्था मिलाइएको पनि उनले स्पष्ट पारेका छन् । परीक्षा केन्द्रमा आउँदा, जाँदा र घरमै रहँदा पनि आवश्यक सचेतना अपनाउन आग्रह गरेका छन् । कक्षा १२ को परीक्षा यही मंसिर ९ गते (मंगलबार)देखि सुरु हुँदै छ ।

यस पटकको परीक्षामा होम सेन्टर (आफू रहेको स्थान नजिकको परीक्षा केन्द्र)बाट पनि परीक्षा दिन पाउने व्यवस्था गरिएको छ । कक्षा १२ को परीक्षामा ४ लाखभन्दा बढी विद्यार्थी सहभागी हुँदैछन् । देशभर ४ हजार १ सय ५ वटा परीक्षा केन्द्र तोकिएको छ । विद्यार्थी धेरै रहेको परीक्षा केन्द्रले स्वास्थ्य सुरक्षा पालनामा विशेष ध्यान दिन बोर्डले निर्देशन दिएको छ । यसपटक कूल पूर्णांकमध्ये ४० प्रतिशतको मात्र संक्षिप्त परीक्षा हुने छ ।
बाँकी ४० प्रतिशत कक्षा ११ मा प्राप्त गरेको अंकको आधारमा विद्यार्थीहरुले नम्बर पाउने छन् । बाँकी २० प्रतिशत कक्षाकार्य, गृहकार्य, अतिरिक्त क्रियाकलाप, समय–समयमा विद्यालयले लिएको परीक्षासमेतलाई आधार मानेर विद्यालयले आन्तरिक मूल्यांकन गर्ने गरी राष्ट्रिय परीक्षा बोर्डले यो परीक्षा सम्पन्न गर्दैछ । मन्त्री पोखरेलले कक्षा १२ को परीक्षा दिन लागेका सबै विद्यार्थीहरुलाई सफलताको शुभकामना दिएका छन् ।
प्रकाशित मिति : November 23, 2020 at 9:18 am









