११ असार २०८३, बिहिबार | Thu Jun 25 2026

सार्वजनिक पदमा रहेका व्यक्तिको चरित्रको शिकार गर्न सञ्चार माध्यमको दुरुपयोग भयोः मुख्य सल्लाहकार रिमाल

१३ भदाै, काठमाडाैँ । पछिल्लो समय सार्वजनिक पदमा रहेका व्यक्तिको चरित्रको शिकार गर्न सञ्चार माध्यमको बढी नै दुरूपयोग भैरहेको छ । यो पत्रकारिता क्षेत्रबाटै सबैभन्दा बढी उठिरहेको विषय हो । विभिन्न आवरणमा सञ्चार माध्यममा प्रवेश गर्ने दलाल र विचौलियाहरूले आफ्नो स्वार्थ सिद्ध गर्नका लागि त्यसरी सार्वजनिक पदमा बसेका दर्जनौँ व्यक्तिको चरित्रको शिकार गरिसकेका छन ।

विषय वस्तुको गहिराइ नपुगी सत्यतासँग कतिपनि मेल नखाने समाचारले दर्जनौ व्यक्तिको छवी सार्वजनिक रूपमा धुलिसात बनाइएको छ । पछिल्लो समय यस्तै गरी प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा राजन भट्टराईको विषयमा केही सञ्चार माध्यमले त्यसैगरी शिकार गर्न खोजेका छन । यही विषयलाई लिएर प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले सञ्चार माध्यममा देखापरेको शिकारी प्रवृतिको चरित्र उदांगो पारिदिएका छन ।

पाँच कदममा शिकारीहरूले सञ्चार माध्यमको दुरूपयोग गरी सार्वजनिक पदमा रहेका व्यक्तिहरूको छवि कसरी समाप्त पार्न कोशिश गर्छन भन्ने विषयमा विस्तृतमा रिमालले प्रष्ट्याउने कोशिश गर्दै भनेका छन ´लोकतन्त्रमा अभिव्यक्ति स्वतन्त्रता र आम सञ्चार माध्यमको यसरी दुरुपयोग भएको देख्दा मलाई मात्रै हैन, वास्तबिक पत्रकारितामा जीवन बिताउनु भएका तपाईँहरुलाई पनि दुःख लागेको हुनुपर्छ । पेशागत ‘धर्म’का कारणले होला-तपाईहरु फोन गर्नुहुन्छ, प्रतिक्रिया माग्नु हुन्छ । तपाईहरु नै भन्नुहोस्– यस्तोमा के प्रतिक्रिया दिऊँ ? के कमेण्ट गरुँ ? ‘शिकारी’को पासोमा कोही किन परौँ ?′

अचेल नियमित जस्तै यस्तो हुने गरेको छ–
पहिलो कदम– सार्वजनिक पदमा रहेका आफ़ना प्रतिस्पर्धीको ‘चरित्र–शिकार’ गर्न ‘शिकारी’को छद्म लगानीमा सञ्चालित ‘पानी–अनलाईन’ मार्फत चरित्र–हत्या गर्न रचिएको कथा सार्वजनिक गरिन्छ ।

दोश्रो कदम– त्यही ‘कथा’लाई, त्यस्तै ‘पानी–अनलाई’ले केही घण्टा भित्र साभार गरी पुनः प्रकाशन गर्छ ।

तेश्रो कदम– ‘फेक न्यूज’को ‘होलसेलर’ले त्यस ‘कथा’लाई आफ़्नो ‘बिक्रेता समूह’ मार्फत फेसबुक, वा ट्वीटर या दुबै सामाजिक सञ्जाल मार्फत सम्प्रेषण गर्छ । तुरुन्तै, पहिलेदेखि नै तैनाथ ‘पेशेवर सञ्जाल–कर्मी’हरुको सक्रियता बढ्छ । पक्षमा, विपक्षमा या आश्चर्य व्यक्त गर्दै टिका– टिप्पणी शुरु हुन्छ । मेसेन्जर, ह्वाट्स एप, भाइवर आदिमा फैलाइन्छ ।

चौथो कदम– एक/दुई दिन मैं ‘पानी–अनलाइन’को ‘फेक न्यूज’ भाइरल बनाइन्छ । सामाजिक सञ्जाल पर्याप्त प्रदुषित भएपछि ‘फेक न्यूज’को ‘सत्यता’ पुष्टिको अभियान शुरु हुन्छ । यसको लागि ‘लिडिङ्ग’ अनलाइन या प्रिण्ट मिडियामा प्रवेश गराइन्छ । यो बिन्दूमा आइपुगे पछि हाम्रो व्यवसायिक पत्रकारिता जुरमुराउँछ ।

पाँचौं कदम– ‘पानी–अनलाइन’ हुँदै मूलधारको मिडियामा प्रवेश गराइएको ‘फेक–न्यूज’ शुरुमा एउटा लिडिङ्ग अनलाइन वा प्रिण्ट मिडियामा समाचार बनाइन्छ । त्यसको सप्लिमेण्ट समाचार सोही स्तरको अर्को मिडियाले “आकर्षक” कलेवरमा प्रसारण गर्छ । अनि शुरु हुन्छ अडियो/भिजुअल प्रचार–प्रसार ।

“त्यसको, त्यस कार्यमा संलग्नता, त्यो, त्यस कार्यमा संलग्न रहेको बलियो प्रमाण, त्यस कार्यमा रहेको संलग्नतामा तपाईँको प्रतिक्रिया…. ….” झण्डै अढाइ बर्षदेखि यसरी यस्ता दर्जनौं “स्क्याण्डल”हरू श्रृजना गरिएका छन् । तथ्यले भन्छ– यस्तो ‘अभियान’मा मूलधारमा रहेका उही/उही व्यवसायिक सञ्चार माध्यम “दुरुपयोग” भएका देखिन्छन् ।

‘शिकारी’हरुले सार्वजनिक ओहोदामा रहेका दर्जनौं व्यक्तिहरुको चरित्रको शिकार गरिसकेका छन् । यो श्रृङ्खलाको पछिल्लो ‘टार्गेट’ प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईलाई बनाइएको छ ।

सञ्चारकर्मी मित्रहरु, लोकतन्त्रमा अभिव्यक्ति स्वतन्त्रता र आम सञ्चार माध्यमको यसरी दुरुपयोग भएको देख्दा मलाई मात्रै हैन, वास्तबिक पत्रकारितामा जीवन बिताउनु भएका तपाईँहरुलाई पनि दुःख लागेको हुनुपर्छ । पेशागत ‘धर्म’का कारणले होला-तपाईहरु फोन गर्नुहुन्छ, प्रतिक्रिया माग्नु हुन्छ । तपाईहरु नै भन्नुहोस्– यस्तोमा के प्रतिक्रिया दिऊँ ? के कमेण्ट गरुँ ? ‘शिकारी’को पासोमा कोही किन परौँ ?

प्रकाशित मिति : August 29, 2020 at 4:04 pm