जलवायु परिवर्तनको प्रभावबाट हिमाललाई जोगाउनुपर्छः मन्त्री अधिकारी
१८ जेठ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले जलवायु परिवर्तनको प्रभावबाट हिमाललाई जोगाउनुर्ने बताएका छन् ।
मन्त्री हधिकारीले पर्वतारोहण प्रशिक्षक प्रतिष्ठानलाई पर्वतारोहण शिक्षाको विश्वविद्यालयका रुपमा विकास गरिने पनि बताएका छन् ।
टुरिज्म मिडिया क्लबले सगरमाथा आरोही दिकी शेर्पालाई सम्मान गर्न विहिबार आयोजना गरेको कार्यक्रममा उनले सर्वोच्च शिखर सगरमाथाले विश्वको ध्यान नेपालमा आकृष्ट गर्ने गरेको चर्चा गर्दै पर्वतारोहणसम्बन्धी अन्तर्राष्ट्रिय मापदण्डको पाठ्यक्रम विकास गरी यसलाई व्यावसायिक रुपमा व्यवस्थित गर्नुपर्नेमा जोड दिए ।
मन्त्री अधिकारीले यस पटक करीब ४०० जनाले सगरमाथा आरोहण गरेको बताउँदै त्यहाँको फोहर व्यवस्थापन गरी जलवायु परिवर्तनको प्रभावबाट हिमाललाई जोगाउनुपर्नेमा जोड दिए ।
प्रतिनिधिसभा सदस्य यज्ञराज सुनुवारले देश विकासका लागि महत्वपूर्ण आधारका रुपमा रहेको पर्यटन क्षेत्रको विकास र उत्थानका लागि निजी क्षेत्रले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताए ।
नेपाली काँग्रेसका नेता रामहरि खतिवडा, पर्यटन व्यवसायीद्वय लाक्पाफुटी शेर्पा, निमा शेर्पा, नेपाल महिला संघकी केन्द्रीय सदस्य पसी शेर्पालगायतले काठमाडौँमा भइरहेको सडकको अवस्था, प्रदूषण र अस्तव्यस्तताका कारण पर्यटन क्षेत्रमा नकारात्मक प्रभाव पर्ने हुँदा त्यसतर्फ संवेदनशील बन्न सरकारलाई आग्रह गरे ।
आरोही शेर्पाले पर्यटन क्षेत्रमा साहसिक यात्राका रुपमा हिमाल आरोहणलाई लिइएको बताउँदै यसका सैद्धान्तिक तथा व्यावहारिक शिक्षालाई बुझेर यात्रा गर्दा सफल भइने विचार व्यक्त गरे ।
टुरिज्म मिडिया क्लबका अध्यक्ष सार्की शेर्पाले महिला समुदायलाई विभिन्न किसिमका संघर्ष गर्नुपर्ने बाध्यता रहेको अवस्थामा आरोही शेर्पाको सफलताले सो समुदायको गौरव बढाएको विचार व्यक्त गरे ।
कार्यक्रममा आरोही दिकी शेर्पालाई सम्मान गरिएको थियो ।
प्रकाशित मिति : १८ जेष्ठ २०७५, शुक्रबार ०६:५३