एनआईसी एशियाले सुरु गर्यो कार्डमा आधारित अनलाईन भुक्तानी गेटवे
३२ साउन, काठमाडाैँ । एनआईसी एशिया बैंकले आफ्नो डिजिटल फस्ट बैंक बन्ने रणनीति अनुरुप कार्डमा आधारित अनलाईन भुक्तानी गेटवे सुचारु गरेको छ । बैंकले अन्तर्राष्ट्रिय गेटवे प्रदायक कम्पनी साइबरसोर्सको गेटवे प्रणाली नेपालमा भित्र्याउँदै इच्छुक मर्चेन्टहरूका लागि जुनसुकै राष्ट्रिय तथा अन्तर्राट्रिय बैंकद्वारा प्रदान गरिएको कार्डहरूमार्फत भुक्तानी प्राप्त गर्न सक्ने प्रणाली सुचारु गरेको हो ।

अमेरिकाको बहुराष्ट्रिय कार्ड कम्पनी भिसाको प्रमुख लगानी रहेको साइबरसोर्सको गेटवे प्रणाली यस बैंकले नेपालमा पहिलोपटक ल्याएको हो । अमेरिका, चीन, भारत लगायत एशिया, युरोप र अफ्रिकाका विभिन्न देशहरूमा प्रयोग भइरहेको यो गेटवे प्रणाली आफ्नो उच्च सफलता दर र निर्वाध भुक्तानीका लागि विश्वजगतमा प्रतिष्ठित छ ।
यो सुविधामार्फत ठूलो संख्यामा रहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्ड प्रयोगकर्ताहरूसँग देशमा रहेका विभिन्न मर्चेन्टहरूले व्यवसायिक सम्बन्ध कायम गरी सोझै आफ्नो एनआईसी एशिया बैंक खातामा भुक्तानी प्राप्त गर्न सक्नेछन् ।
यस सुविधाले विशेषगरि अनलाइन प्लेटफर्ममा आधारित इकमर्श, ट्राभल एण्ड टुर्स, हवाई उड्डयन, युटिलिटी सेवा प्रदायक, भुक्तानी सेवा प्रदायक, पर्यटन व्यवसायी, एडभेन्चर तथा मनोरञ्जन, हस्तकला लगायतका व्यवसायीहरूलाई भुक्तानी प्रणालीमा नयाँ आयाम थप्ने बैंकले विश्वास लिएको छ ।
प्रकाशित मिति : August 16, 2020 at 8:20 pm









