९ श्रावण २०८३, शनिबार | Sun Jul 26 2026

तनहुँमा रोकिएन चितुवाको आक्रमण, गएराति एक बालिका घाइते

१८ साउन, तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ समस्तीपुरमा गएराति चितुवाको आक्रमणबाट एक बालिका घाइते भएकी छन् । घाइते हुनेमा १० वर्षीया अमिषा थापा रहेको डिभिजन वन कार्यालयले जनाएको छ । घरको आँगनमा बसिरहेको बेला चितुवाको आक्रमणबाट घाइते भएकी बालिकालाई राति नै उपचारका लागि भरतपुर पठाइएको कार्यालयका प्रमुख केदार बरालले जानकारी दिनुभयो । उनीको घाँटीमा चोट लागेको छ ।

हजुरबुवा धनबहादुर पन्तको घरमा बसिरहेकी ती बालिका सोही ठाउँको चन्द्रोदय माध्यमिक विद्यालयमा कक्षा ३ मा अध्ययनरत छिन् । “रातिको समयमा घरको आँगनमा बसेका बेला चितुवाले आक्रमण गरी बालिकालाई घाइते बनाएको छ, रातको समय भएकाले चितुवाले आक्रमण गर्न सजिलो हुने हुनाले विशेष सतर्कता अपनाउनुपर्छ”, प्रमुख बरालले भन्नुभयो ।

विसं २०७४ फागुनयता चितुवाको आक्रमणबाट ९ बालबालिकाले ज्यान गुमाएका छन् । पछिल्लोपटक गत वैशाख २५ गते भानु नगरपालिका–४ चुँदीमा चितुवाको आक्रमणबाट स्थानीय ३६ वर्षीय रामबहादुर कुमाल घाइते हुनुभएको थियो । त्यसयता चितुवाको आक्रमण रोकिएकामा पुनः चितुवाको आक्रमणबाट शुरु भएपछि स्थानीयवासी त्रसित छन् ।

चितुवाका आहारा प्रजाति मृग, बँदेल, खरायो, वनकुखुरा आदि वनमा लोप हुँदै गएपछि चितुवा बस्तीमा प्रवेश गरी बालबालिकामाथि आक्रमण गर्न थालेको डिभिजन वन प्रमुख बरालको भनाइ छ । “ठूला मान्छेलाई भन्दा साना बालबालिकालाई आक्रमण गर्न सजिलो हुने भएकाले चितुवाको निशानामा बालबालिका पर्दै गएको देखिन्छ”, उहाँले भन्नुभयो, “साँझको समयमा चितुवा आक्रमण हुने भएकाले त्यसबेला विशेष ध्यान पुर्याउनुपर्छ ।”

प्रकाशित मिति : August 2, 2020 at 7:51 am