कोरोना संक्रमणका कारण थप ३ जनाकाे मृत्यु, मृतककाे संख्या ५२ पुग्याे
१५ साउन, काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप ३ जनाको मृत्यु भएको पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मोरङमा १ र पर्सामा २ जनाको कोरोनाका कारण मृत्यु भएको बताउनुभयो । मृत्यु हुनेमा मोरङको सुनवसी-८ का ४५ वर्षिय पुरुष रहेका छन ।
निरन्तर भारत आवजावत गरिरहने ती पुरुषमा ज्वराे र स्वासप्रश्वासमा समस्या देखिएपछि कोभिड अस्पताल विराटनगरमा भर्ना गरिएको थियो । अवस्था गम्भिर बन्दै गएपछि धरानमा रहेको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रिफर गरिएको थियो । अस्पतालको आइसियु भेन्टिलेटरमा उपचारकै क्रममा उनको निधन भएको हो ।

यस्तै पर्साको विरगञ्ज-७ का ७० वर्षिय वृद्धको पनि कोरोनाका कारण मृत्यु भएको छ । मुटु र मधुमेह रोगका विरामी उनी एक नीजि अस्पतालमा निमोनियाको उपचार गराइरहेका थिए । पर्सा वीरगञ्जकै वडा नम्बर ५ का ६८ वर्षिय पुरुषको पनि कोरोनाका कारण निधन भएको छ । साउन ७ गते कोरोना पुष्टि भएका ती पुरुष मृगौला सम्बन्धि समस्याबाट पीडित थिए ।
झाडापाखालाको उपचारका लागि विभिन्न नीजि अस्पतालमा गएपनि निको नभएपछि नारायणी अस्पताल भर्ना भएका थिए । त्यहाँ आइसियुमा राखेर उपचार सम्भव नभएपछि नेशनल मेडिकल कलेजमा भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा निधन भएको प्रवक्ता डा. गौतमले बताउनुभयो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५२ पुगेको छ ।
प्रकाशित मिति : July 30, 2020 at 5:23 pm



