९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

काठमाडौँकाे चन्द्रागिरिमा पहिराेको जोखिम, तीन घर स्थानान्तरण गरियो

१४ साउन, काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–१३ मा तीन घरमा पहिराले जोखिम पुर्याएपछि सुरक्षित स्थानमा सारिएको छ । केही दिनअगाडि परेको अविरल वर्षाबाट वडा नं १३ को बोगटी गाउँमा तीन घरलाई पहिराको जोखिम बढाएपछि मङ्गलबार ती घरलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको हो । पछिल्लो समय बाढीपहिराका कारण देशैभरि ठूलो जनधनको क्षति पुर्याइरहेका बेलामा चन्द्रागिरिमा हुनसक्ने बाढीपहिराको सम्भावित घटनालाई रोक्न नेपाली सेनाको युद्ध कवच गण सीतापाइलाबाट गएको नेपाली सेनाको टोलीले सुरक्षित स्थानमा स्थानान्तरण गरेको हो ।

बोगटी गाउँमा सीता रिजाल, पुष्पराज गिरी र तेजकुमारी पौडेलको घरमा पहिराले जोखिम पुर्याएपछि स्थानान्तरण गरिएको हो । सेनाको टोलीले तीनै घरको खाद्यान्न लत्ताकपडा झिकेर सुरक्षित स्थानमा सारेको छ । नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले पहिराको जोखिममा परेका परिवारलाई अस्थायी रुपमा बस्नका लागि त्रिपाल राखेर घर बनाइएको जानकारी दिनुभयो । पछिल्लो समय नगरपालिकाले विपद्बाट हुने सम्भावित घटनालाई रोक्नका लागि विपद् व्यवस्थापनको क्षेत्रमा यथेष्ट रकम विनियोजन गरी काम गर्दै आइरहेको छ ।

प्रकाशित मिति : July 29, 2020 at 12:20 pm