९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

दलका नेताहरूको दैलो चाहर्ने तर संगठनको काम नगर्ने सशस्त्र प्रहरी कारबाहीमा पर्ने

१२ साउन, काठमाडाैँ ।सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले जस्तो सुकै चुनौतीको सामना गर्नका लागि तयार रहन मातहत कमाण्डरहरुलाई निर्देशन दिनु भएको छ । हालै सरुवा भएका गणपति एवं तालिम शिक्षालयका समादेशकहरुलाई निर्देशन दिने क्रममा उहाँले सो कुरा वताउनु भएको हो ।

कोभिड -19 का कारण उपत्यकामा उपलब्ध कमाण्डरहरुलाई प्रधान कार्यालयमा तथा अन्यलाई प्रदेश स्थित बाहिनीहरुमै सोमबार भिडियो स्ट्रिमिङ्ग मार्फत निर्देशन दिनु हुँदै महानिरीक्षक खनालले राज्यले सशस्त्र प्रहरी माथी गरेको भरोषा र जनताले गरेको आशालाई तराई देखी हिमालसम्म निरन्तर खटिएर उत्कृष्ट ढंगले पुरा गर्नुपर्ने वताउनु भयो ।

बाहिनीपतिहरु समेतलाई उपस्थित गराएर दिनु भएको निर्देशनमा उहाँले व्यावसायिक चरित्र र उच्च अनुशासन¸ प्रदर्शन गर्न निर्देशन दिनु भयो । प्रत्येक तहका कमाण्डरलाई दिइएको जिम्मेवारीको निरन्तर अनुगमन तथा मुल्याङ्कन गरिने र काम सन्तोषजनक नभएमा विगतमा जस्तै कमाण्डबाट अलग गराउने कार्यलाई थप प्रभावकारी वनाइने वताउनु हुँदै उहाँले सामुहिक भावना¸ सहयोग¸ सहकार्य र समन्वयमा कार्य गर्न समेत निर्देशन दिनुभयो ।

अन्य सुरक्षा निकाय तथा स्थानिय प्रशासनसँगको सहकार्यमा राज्य र संगठनले दिएको जिम्मेवारी पुरा गर्न निर्देशन दिनुहुँदै उहाँले आफू मातहतका कर्मचारी प्रति अभिभावकत्व लिदैं उनीहरुको कार्य प्रति हौसला र उत्प्रेरणा जगाउँदै जिम्मेवारी कुशलता पूर्वक पुरा गर्न र आफूसँग भएका श्रोत साधनको अधिकतम् प्रयोगबाट जस्तो सुकै परिस्थितिमा समेत त्रुटी रहित ढंगले उत्कृष्ट कार्य गर्ने गरि आफू र मातहत कर्मचारीलाई समेत तयार राख्‍न निर्देशन दिनुभयो ।

संगठन र संगठनले लिएको नीति प्रति आँच आउने खालका कार्य सह्‍य नहुने वताउनु हुँदै उहाँले चेन अफ कमाण्डलाई अक्षरस पालना गर्न र संगठनले लिएको भ्रष्टाचार¸ मानव अधिकार उल्लंघन र लैंगिक हिंसा बिरुद्धको शुन्य सहनशिलतालाई पूर्ण पालना गर्दै अनुशासित¸ जिम्मेवार र कर्तव्यनिष्‍ठ भएर फिल्डमा देखिने र महसुस हुने गरि कार्य गर्न समेत निर्देशन दिनुभयो । दलका नेताको दैलो चाहर्ने तर संगठनमा जिम्मेवारी पूरा नगर्ने अधिकृतहरूतर्फ संकेत गर्दै संगठनका गोप्य सूचनाहरु चुहावट गर्दै संगठनलाई बद्‍नाम गराउने कार्यप्रति आगामी दिनमा समेत थप निर्मम भएर प्रस्तुत हुने उहाँले वताउनुभयो ।

सो अवसरमा मानवश्रोत विभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम के.सी. ले संगठनका गोप्य सूचना र डकुमेन्टहरुको दुरुपयोग गर्नेहरुको शुक्ष्म ढंगले निगरानी गरिरहेको र त्यस्ता कार्यमा संलग्नहरुलाई कडा भन्दा कडा कारबाही गरिने वताउनु हुँदै संगठनबाट भएका नीति निर्देशनको अक्षरस पालना गर्न र आन्तरिक रुपमा कार्यालयलाई थप व्यवस्थित र परिस्कृत बनाउन आग्रह गर्नु भयो ।

यसैगरि राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्‍ठानका कार्याकारी निर्देशक सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायण वावु थापाले आफ्नो जिम्मेवारी र दायित्वलाई स्तरिय ढंगले पछिसम्म स्मरणिय हुने गरि कार्य गर्नुपर्ने वताउनु भयो ।

कार्यक्रममा कार्य तथा सीमा सुरक्षा विभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलले प्राप्त जिम्मेवारीलाई पुरा गर्न सकारात्मक ढंगले आउन सक्ने विपद् लगायतका चुनौतीहरुको लागि तयार रहनु पर्ने वताउनु भयो ।

प्रकाशित मिति : July 27, 2020 at 10:27 pm