दक्षिण ललितपुरको महाङ्काल गाउँपालिकाका २६ घर पहिरोको जोखिममा
११ साउन, काठमाडाैँ । दक्षिण ललितपुरको महाङ्काल गाउँपालिकाका २६ घर जोखिममा परेका छन् । यही साउन ५ र ६ गते आएको अविरल वर्षातका कारण यहाँका यी घरहरु जोखिममा परेका हुन् । महाङ्कालको रातोमाटे–बतासे –काभ्रे हुँदै जाने सडक खण्डमा आएको भिषण पहिरोले वडा नं २ मानिखेल रातोमाटेका पाँचदेखि छ घर विस्थापित हुने अवस्थामा पुगेको गाउँपालिकाका अध्यक्ष रामचन्द्र दाहालले बताउनुभयो ।
उहाँले भन्नुभयो, “करिब ३०० मिटर लम्बाइ र ५०० देखि ६०० मिटर उचाइबाट पहिरो खसेको छ ।” यसैगरी वडा नं ३ गोटिखेल धामीखोला वस्तीका अन्य थप २१ घर पनि पहिरोका कारण जोखिम र विस्थापित हुने अवस्थामा पुगेका दाहालले जानकारी गराउनुभयो । “गोटिखेलको २१ घर मध्येका १२ देखि १५ परिवार अन्यत्र वा आफन्तको शरण लिन बाध्य भएका छन्”, दाहालले थप्नुभयो, “यसमा बाँकी रहेका केही परिवार भने आफ्नै घरमा बसिरहेका छन् । दिनानुदिन थपिँदै गएको पहिरोका कारण लेले–चन्दनपुर हुँदै जाने सडकखण्ड खोल्न भने सकेका छैनौँ ।” रातोमाटेमा व्यापक पहिरो जाँदा लगभग ५० वटा जाली भर्नुपर्ने अवस्था सिर्जना भएको दाहाले बताउनुभयो ।

केन्द्र सरकारले रातोमाटे क्षेत्रमा समयमै ध्यानाकर्षण गरी सडकमा भएको समस्या अन्त्य नगरेमा गाउँवासीले अझ धेरै जोखिम मोल्न बाध्य हुने दाहालको भनाइ छ । अर्काेतर्फ कोञ्ज्योसोम गाउँपालिकामा दुई दिनअघि आएको वर्षातले निकै क्षति गरेको छ । पहिराले कोञ्ज्योसोम नल्लु हुँदै र कोञ्ज्योसोम मध्यमार्गी चौघरे–नल्लु हुँदै चापागाउँ आउने मुख्य सडक नै अवरुद्ध भइरहेको गाउँपालिकाका उपाध्यक्ष मिङ्मा लामाले बताउनुभयो ।
“यसै वडामा घरमुनी र माथिबाट आएको पहिराले तीन घर जोखिममा परेको छ”, उहाँले थप्नुभयो, “शङ्खु सोचे ठूलो पहिरो भन्ने स्थानमा भीषण पहिरो जाँदा यहाँका लगभग १० घर जोखिममा परेका छन् ।” यसैगरी वडा नं ३ दलचोकी खत्रीडाडाँमा दुई घर पहिराले भासिएको छ भने ठोस्नेखोलाकोे पुलसमेत पानीले बगाएको वडाध्यक्ष तीलकबहादुर बोम्जनले बताउनुभयो । उहाँले भन्नुभयो, “खोलाले जमीन कटान गर्दा लगभग ५० देखि ६० रोपनी खेतीबारीमा नोक्सान भएको छ । यसै वडाका अन्य थप चार देखि पाँच घरको भित्ताबाट पहिरो आएर घरनै चकाएको छ ।” ती घर पहिराले असर गरेका केही परिवार कटेज त केही परिवार उक्त घरमा नै बस्न बाध्य भएका छन् ।
दलचोकी क्षेत्रको जमीन अन्य वडाभन्दा केही भिरालो स्थानमा रहँदा बढीनै भासिन पुगेको बोम्जनले जानकारी गराउनुभयो । वाग्मती गाउँपालिकाका सहायक तथा मुख्य सडक पहिरोले अवरुद्ध गराएको गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले बताउनुभयो । उहाँले भन्नुभयो, “वाग्मतीको वडा नं २ माल्टा, ४ प्युटार र ५ इकुडोलको मुख्य तथा सहायक सडक बढीजोसो अवरुद्ध हुँदा तरकारी तथा दुग्धजन्य सामग्री बजारीकरण गर्न पाएका छैनौँ ।” सो क्षेत्र भएर काठमाडौँ–हेटौँडा जोड्ने छोटो दूरीको सडकखण्ड कान्ति लोकपथ छपेलीसम्म आवतजावत गर्न खुलाएता पनि छपेलीदेखि बगुवासम्मको पूरै सडक भने बन्द भइरहेको लोप्चनले जानकारी गराउनुभयो ।
प्रकाशित मिति : July 26, 2020 at 9:24 pm



