वीरगञ्जको कोभिड अस्पतालमा उपचाररत एक व्यवसायीको मृत्यु
११ साउन, काठमाडौँ । वीरगञ्जमा आरडिटी पोजेटिभ देखिएका एक जना वृद्धको मृत्यु भएको छ । वीरगंज स्थित नारायणी अस्पतालको अस्थायी कोभिड गण्डक अस्पतालको भेन्टिलेटरमा उपचार गराई रहेका आदर्शनगर निवासी ६५ वर्षीय वृद्धको आज मृत्यु भएको छ। मधुमेह र मुटुरोगी समेत रहेका वृद्धको अस्पतालमा कोरोना संक्रमणको आशंकामा तत्काल आरडिटी टेष्ट गराउँदा रिपोर्ट पोजेटिभ आएपछि थप उपचारकालागि नारायणी अस्पतालको अस्थायी कोभिड गण्डक अस्पतालमा भर्ना गरिएको थियो।

गण्डक अस्पतालको भेन्टिलेटरमा उपचारको क्रममा वृद्धको आज बिहान साढे ६ बजे मृत्यु भएको र मृतकको पिसीआर रिपोर्ट भने आउन बाँकी रहेको अस्थायी कोभिड गण्डक अस्पतालका प्रमुख डाक्टर निरज सिंहले जानकारी दिएका छन् । वृद्ध वीरगञ्जको आदर्शनगरमा व्यवसाय गर्दै आएका थिए । कारोनाको संक्रमण बढ्न थालेपछि शनिबारदेखि वीरगञ्जमा निषेधाज्ञा लागु गरिएको छ ।
प्रकाशित मिति : July 26, 2020 at 11:25 am



