२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

‘मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय’ नुवाकोटमा स्थापना गर्न सरोकार समाजको माग


९ साउन, काठमाडाैँ । नुवाकोट सरोकार समाजले प्रस्तावित ‘मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय’ स्थापनाका लागि नुवाकोटमा अनुकूल पूर्वाधार भएको जनाउँदै आज शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई ध्यानाकर्षण गराएको छ ।

समाजका अध्यक्ष रामशरण प्याकुरेल र महासचिव अनुजकुमार श्रेष्ठसहितको प्रतिनिधिमण्डलले मन्त्री पोखरेललाई सिंहदरबारस्थित कार्यालयमा भेटी नुवाकोटको शैक्षिक, पूर्वाधार र आर्थिक विकासप्रति सरोकार राख्दै सांस्कृतिक एवं प्राकृतिक स्रोतको संरक्षण तथा सम्वद्र्धन र सुशासन कायम गर्ने कार्यमा रचनात्मक सहयोग पु¥याउन आग्रह गरेको हो । सो विश्वविद्यालयसम्बन्धी विधेयक हाल सङ्घीय संसद्मा विचाराधीन छ भने विधेयकमा विश्वविद्यालयको केन्द्रीय कार्यालय काठमाडौँ उपत्यका वा आसपासमा रहने उल्लेख छ ।

समाजले नुवाकोटमा अनुकूल वातावरण रहेको र सुगम स्थानमै पर्याप्त सरकारी जग्गासमेत उपलब्ध हुने हुँदा सो विश्वविद्यालयको कार्यालय नुवाकोटमा स्थापना गर्ने व्यवस्थाका लागि ध्यानाकर्षण गराएको हो । मन्त्री पोखरेलले सो विषयमा आफूले सम्बन्धित पक्षसँग विमर्श गर्ने आश्वासन दिनुभयो । उहाँले सोही विश्वविद्यालय नुवाकोटमा स्थापना गर्न नसकिएमा पनि कुनै प्राज्ञिक सम्भाव्य विकासका लागि आफू तत्पर रहेको बताउनुभयो ।

समाजले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिभिटी)ले हालै नुवाकोटको विदुर नगरपालिकामा ‘पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालय’ स्थापना गर्ने गरी सैद्धान्तिक सहमति दिएकामा धन्यवाद पनि दिएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७७, शुक्रबार २१:१५

https://srdb.com.np/