२४ जेष्ठ २०८३, आइतबार | Sun Jun 7 2026

उद्धरण चिन्हभित्रका विद्वानहरू

-लक्ष्मीप्रसाद ढकाल 

विवादैविवादका बीच अर्को विदाद
खण्डनैखण्डनका बीच अर्को खण्डन
मण्डनैमण्डनका बीच अर्को मण्डन
तर्कैतर्कका बीच अर्को तर्क
अध्ययनअनुसन्धानका लागि सुवर्ण अवसर !
उद्धरण चिन्हभित्रका विद्वानहरूलाई प्रश्नैप्रश्न ?

इतिहास भनेकै भूत , वर्तमान र भविष्य हो
सत्य र तथ्य प्रमाण बनेर आउँछन्
मर्यादा पुरुषोत्तम राम आस्थाका प्रतीक हुन्
सीता आदर्श नारी चरित्रको विश्वासको प्रतीक हुन्
उद्धरण चिन्हभित्रका विद्वानहरूलाई प्रश्न
अब भन्नुहोस् , रामको जन्म कहाँ भएको हो ?

उत्तर सजिलै छ अयोध्या तर अयोध्या कहाँ छ ?
ए उद्धरण चिन्हभित्रका विद्वानहरू हो,
यतिका वर्ष अध्ययनअनुसन्धान गर्न कसले रोक्यो ?
के `स्वस्थानी व्रत्र कथा´मा विदेशी नारीले विद्यावारिधि गरेजस्तो
अयोध्याका बारेमा विदेशीले नै विद्यावारिधि गरिदिनुपर्ने हो ?

मर्यादा पुरुषोत्तम राम हाम्रा ज्वाइँ होइनन्, हाम्रा सन्तान हुन्
प्रमाण , पर्सा जिल्लाको चितवन राष्ट्रिय निकुञ्ज गएर त हेर्नुस्
वाल्मीकि ऋषिआश्रम यहीँ छ , `रामायण ´ ग्रन्थको रचना यहीँ भएको हो
लवकुश जन्मिएको यही भूमि हो
अश्वमेध घोडा बाँधिएको शिलाको खम्बा यहीँ छ , अयोध्यापुरी नगरी चितवनमा छँदै छ ।

रामधुनी सुनसरीमा छ, अन्धाअन्धी कुवा स्याङ्जामा छ
रामायणमा वर्णित सरयू नदी यहीँ छ , रामका सेनालाई बचाउने अमृतकुवाको किम्वदन्ती यहीँ छ
सीताले धर्तीमातासँग पुकार गरेर समाहित भएको भूगोल देवदह हो
रामले अन्तर्ध्यान गरेको पवित्र ठाउँ पाल्पाको रामघाट छँदै छ ।
उद्धरण चिन्हभित्रका विद्वानहरू हो
कमसेकम अध्ययनअनुसन्धान गरेर त बोल्नुस् ।

रामका गुरु वशिष्ठ र विश्वामित्र यही भूमिका हुन्
वाल्मीकि आश्रम नै ऐतिहासिक प्रमाण हो
नक्कली अयोध्या खडा गरेर नेपालीको संस्कृतिमाथि
सत्यलाई दबाउन खोज्नु भनेको झुटको खेती गर्नु हो
त्यसैले उद्धरण चिन्हभित्रका विद्वान मित्र हो
अध्ययनअनुसन्धान गरेर त हेर्नुस् , रामको जन्म कहाँ भएको हो ?

(ढकाल त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा दर्शनाचार्य अध्ययनरत रहेका छन ।)

प्रकाशित मिति : July 19, 2020 at 8:34 am