८ श्रावण २०८३, शुक्रबार | Sat Jul 25 2026

नयाँ पत्रिका दैनिकका कार्यकारी निर्देशक थापाविरूद्ध १८ करोड करछलीको मुद्दा

२५ असार, काठमाडाैँ । सरकारले नयाँपत्रिका दैनिकका कार्यकारी निर्देशक सुशील थापासहितको विरूद्धमा १८ करोड बढीको करछलीको मुद्दा दर्ता भएको छ । राजस्व अनुसन्धान विभागले थापा नेतृत्वको जिमी ग्रुपका विरूद्धमा १८ करोड ३३ लाख २२ हजार सात सय ९६ रूपैयाँ  कर छली गरेको अभियोगमा मुद्दा दर्ता गरेको बुधबार जानकारी दिएको छ ।

विभागका सूचना अधिकारीले बुधबार जारी गरेको विज्ञप्ति अनुसार काठमाडाैँ महानगरपालिका वडा नम्बर ४ मा रहेको नयाँ पत्रिकाका कार्यकारी निर्देशक थापा अध्यक्ष रहेको जिमी ग्रुपले झुटा र नक्कली भ्याट बिलको प्रयोग गरेर कर छलेको अभियोग लागेको जानकारी दिएका छन । स्थायी लेखा नं. ६०३५७१०४८ भएको जिमी ग्रुपका विरूद्धमा असार २१ गते उच्च अदालत पाटनमा मुद्दा दर्ता भएको छ ।

जिमी ग्रुपले वस्तु तथा सेवा खरिद नै नगरी झुठ्ठा तथा नक्कली मुल्य अभिवृद्भि कर विजक मात्र खरिद गरी मूल्य अभिवृद्धि कर र आयकर समेतको राजस्व चुहावट गरेको विभागको दाबी छ ।  थापाको जिमी ग्रुपले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ को दफा ३ ले निषेधित ऐ. ऐनको दफा ४ को (क), (ख) र (छ) तथा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) (पहिलो संशोधन २०७६) ऐन २०५२ को दफा ४ को (क), (च) र (झ) को कसूर गरी जिमी ग्रुप प्रा.लि. (स्थायी लेखा नं.६०३५७१०४८) ले मु.अ.कर तर्फ रु. ५९७९९८२५/-, आयकर तर्फ रु. १०७९१९११५/- र लाभांस कर तर्फ रु. १५६०३८५६/- राजस्व चुहावट गरेको विभागले ठहर गरेको छ ।

विभागले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, 2052 को दफा २(छ१) बमोजिम जम्मा विगो रु. १८३३२२७९६।- (अक्षरेपि अठार करोड तेत्तीस लाख बाइस हजार सात सय छयानब्बे रुपैयाँ मात्र) कायम गरी जिमी ग्रुप प्रा.लि. (स्थायी लेखा नं.६०३५७१०४८) लाई उल्लिखित कसुर अपराधमा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २३ को उपदफा (१) र (३) तथा सोही ऐन (पहिलो संशोधन -२०७६) को दफा २३(१) को खण्ड (घ) र २३ (४) वमोजिम विगो रकम रु. १८३३२२७९६।- असुल उपर गरी विगोको दोब्बर जरिवाना र कैद सजाय गर्न माग गरेको छ । विभागले जिमीसँगै अन्य ४ कम्पनीका विरूद्धमा पनि करछलीको मुद्दा दर्ता गरेको छ ।

प्रकाशित मिति : July 9, 2020 at 10:47 pm