छोटो दूरीका सार्वजनिक यातायात खोल्ने सरकारको निर्णय, ५० प्रतिशत भाडा बढ्यो
२५ असार, काठमाडौँ । कुल क्षमताको ५० प्रतिशत यात्रु राखेर छोटो दुरीका सवारी सञ्चालन हुने सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बताए । उपत्यकाको हकमा काठमाडौँ, ललितपुर र भक्तपुर तथा अन्य जिल्लाको हकमा जिल्ला भित्र मात्रै सञ्चालन हुने गरी सार्वजनिक सवारी सञ्चालन हुने भएका हुन् ।
अर्थ/ सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेका प्रवक्ता खतिवडाले एक पंक्तिको एक सिटमा एकजना हुनेगरी कुल क्षमताको ५० प्रतिशत मात्रै यात्रु राख्न पाइने छ । सवारी, चालक र सह चालकले मास्क र सेनिटाइजर अनिवार्य प्रयोग गर्नुपर्नेछ ।

गाडीमै स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने चालक र सहचलकले मास्क सँगै भाइजर र पञ्जा लगाउनुपर्ने र दैनिक निसंक्रमित गरेर मात्रै सवारी गुडाउनुपर्ने उहाँले बताउनुभयो । सार्वजनिक यातायातले यो मापदण्ड लागु हुँदासम्म प्रचलित भाडादरमा ५० प्रतिशत बढी भाडा लिन पाउने छन् ।
ट्याक्सी सेवा पनि सञ्चालनमा आएका छन् । यसअघि चालक बाहेक २ जना मात्रै बस्न पाइने गरी नियम बनाइएकोमा अब २ जना बाहेक एकैपरिवारका ५ वर्षमुनिका अरु सदस्यहरु समेत ट्याक्सीमा सवार हुन पाउने छन् । भाडादर भने पुरानै कायम छ । ट्याक्सीहरु तत्कालैबाट सञ्चालन भएपनि अन्य सार्वजनिक सवारीको हकमा सुरक्षा प्रवन्ध मिलाएर सञ्चालन गर्न केही समय लाग्ने उनले बताए ।
प्रकाशित मिति : July 9, 2020 at 5:17 pm



