८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

ललितपुरकाे खोकनामा फास्ट ट्रयाकमा पर्ने जग्गामा धान रोप्न थालेपछि स्थानीय र प्रहरीबीच झडप

२० असार, काठमाडाैँ । फास्ट ट्रयाकमा पर्ने जग्गामा धान रोप्न थालेपछि स्थानीय र प्रहरीबीच झडप भएको छ । विकासका नाममा उर्वर भूमि विनाश भइरहेको भन्दै विरोध स्वरुप धान रोपिरहेका किसानलाई अवरोध गरेपछि झडप भएको हो । किसानहरु सामूहिक रुपमा धान रोप्न गएपछि झडप भएको हो ।

नेवाहरुको आफ्नो भूमि माथिको अधिकार भएपछि सरकारले विकास परियोजनाका नाममा हराभरा र उर्वर भूमिलाई विनाश गर्ने हिसाबले काम गरिरहेकाले विरोध गरिएको उपत्यकाव्यापी सडक पीडित संघका कोषाध्यक्ष विद्या श्रेष्ठले बताउनुभयो । ३ हजार वर्ष अगाडीको नेवा सभ्यता विनास गर्न खोज्ने सरकारको कामका विरुद्ध धान रोपेर विरोध गरिएको उहाँले बताउनुभयो ।

किसानहरु संयुक्त रुपमा धान रोपाई गर्न थालेपछि विहानै देखि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो । प्रहरीले धान रोप्न नदिएपछि नाराबाजी सुरु गरेका थिए । स्थानीयहरु रुद्रायणी मन्दिरमा भेला भएर ट्रयाक्टर, कुटो कोदालोसहित कुदेश, सिकाली हुँदै खुडोल पुगेका थिए ।

उपत्यकाका विभिन्न स्थानबाट मानिसहरु किसानको समर्थनमा खोकना पुगेर धान रोप्न सुरु गरेका थिए । ‘फास्ट ट्रयाक चाँहिदैन किसान मार्न पाईदैन’, ‘भूमाफिया होसियार’, ‘सम्पूर्ण किसान एक होउ’ भन्ने नारा लगाएर प्रहरीलाई ढुंगामुडा प्रहार गरेपछि झडपको अवस्था आएको हो ।

खोत रोपाईमा प्रहरीले अवरोध गरेपछि आक्रोशित स्थानीयको भिडलाई तितरवितर पार्न प्रहरीले अश्रुग्यास र हवाई फायर गरेको थियो । बाहिरी चक्रपथ, काठमाडौं तराई द्रुतमार्ग र मातातीर्थ—भक्तपुर १३२ केभी प्रसारणलाईन खोकना हुँदै बनाउने योजना सरकारले अघि सारेपछि स्थानीयले विरोध गरिरहेका हुन् । सांस्कृति सम्पदाहरुमाथि विकासका नाममा विनास गर्न नहुने भन्दै स्थानीय विरोधमा उत्रेका हुन् । झडपमा केही घाइते समेत भएका छन् ।

प्रकाशित मिति : July 4, 2020 at 3:00 pm