८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

अकूत सम्पत्ति कमाएको अभियोगमा मालपोत कार्यालय बाराका लेखापालविरूद्ध मुद्दा दायर

१५ असार, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनीरुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा मालपोत कार्यालय बारामा कार्यरत लेखापाल युगलकिशोर ठाकुरविरुद्ध विशेष अदालतमा आज दायर गरेको छ ।

आयोगका अनुसार २०६८ माघ ९ गते कोष तथा लेखा नियन्त्रक कार्यालय बाराबाट रापअन द्वितीय श्रेणीमा प्रवेश गर्नुभएका ठाकुर सहलेखापाल पदमा नियुक्ति भई २०७२ साल वैशाख २२ मा लेखापालमा बढुवा हुँदासम्म रु तीन करोड चार लाख ९४ हजार ३०८ बराबरको सम्पत्ति गैरकानूनीरुपमा आर्जन गरेको पाइएको छ ।

ठाकुरले सार्वजनिक सेवाको पदमा रहँदा रु तीन करोड १५ लाख ७५ हजार १६ बराबरको सम्पत्ति सिर्जनामा खर्च लगानी गरेको देखिएको छ । स्रोत खुल्न नआएको रु तीन करोड चार लाख ९४ हजार ३०८ बराबरको सम्पत्ति अवैध रहेको आयोगले ठहर गरेको छ ।

यस्तै आयोगले ठाकुरका नाममा राष्ट्रिय वाणिज्य बैंक सिमरामा रहेको मौज्दात रु दुई करोड ७६ लाख ४४ हजारसमेत जफत गर्न माग गरेको छ । आयोगले बिगो असुल गरी हदैसम्मको कारवाहीको माग गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।

त्यस्तै आयोगले वीरेन्द्रनगर नगरपालिका– ४ को वडा कार्यालयमा प्रशासन सहायक करार सेवामा कार्यरत रत्नबहादुर विकलाई पक्राउ गरेको छ । आयोगका अनुसार वडा कार्यालयमा उठाएको राजस्व रकम कार्यालयको राजस्व खातामा जग्गा नगरी हिनामिना गरेको अभियोगमा आयोगको सुर्खेत कार्यालयबाट गएको आयोगको टोलीले शनिबार उहाँकै घरबाट शनिबार पक्राउ गरेको हो ।

प्रकाशित मिति : June 29, 2020 at 6:59 pm