प्रदेश २ मा कार्यरत २ असईसहित ३ जना प्रहरी निलम्बित
१२ असार, जनकपुरधाम । प्रदेश २ मा कार्यरत २ प्रहरी सहायक निरीक्षक सहित ३ जना निलम्बन भएका छन् । कर्तव्य र मर्यादा विपरित काम गरेको भन्दै २ प्रहरी सहायक निरीक्षक र १ प्रहरी जवान कारवाहीमा परेका हुन् । रौतहटको छुट्टाछुट्टै कार्यालयमा कार्यरत यी ३ जना प्रहरीलाई निलम्बन गरिएको प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले जनाएको छ ।

रौतहटको इलाका प्रहरी कार्यालय पिपरा रजबाडा दरबन्दी भई प्रहरी चौकी औरैयामा कार्यरत असई ललित साह, सोही कार्यालयमा कार्यरत प्रहरी जवान दिनेश हजारा र इलाका प्रहरी कार्यालय देबाही गेनाही दरबन्दी भई प्रहरी चौकी ब्रहमपुरीमा कार्यरत असई सञ्जीवकुमार झा निलम्बित भएका छन्। आर्थिक प्रलोभनमा परी हुण्डी कारोबारीमा संलग्न व्यक्तिलाई सघाएको प्रमाणित भएपछि असई साह र जवान हजारालाई निलम्बन गरिएको प्रदेश प्रहरी प्रमुख डिआइजी धीरजप्रताप सिंहले जानकारी दिएका छन् ।
प्रहरी आचरणविरुद्व काम गर्दा पटक-पटक सुध्रिने मौका दिँदासमेत नसुध्रेका असई झालाइ निलम्बन गरिएको सिंहले बताएका छन् । असई झा हालै मात्र एक महिलासँग रातिको समयमा आपत्तिजनक अवस्थामा भेटिएका थिए । आपत्तिजनक अवस्थामा झालाई गाउँलेले फेला पारी प्रहरी कार्यालयको जिम्मा लगाएको थियो ।
प्रकाशित मिति : June 26, 2020 at 5:08 pm



