८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

कोरोना सङ्क्रमितकाे शव व्यवस्थापनकाे लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमर्जेन्सी बाहेकका सेवा बन्द

११ असार, चिप्लेढुङ्गा । स्वास्थ्य विज्ञान प्रतिष्ठान क्षेत्रीय पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराले आकष्मिकबाहेकका अन्य सेवा बन्द गरेको छ । अस्पतालमा उपचारत कोरोना सङ्क्रमित स्याङ्जाका ५५ वर्षीय पुरुषको बुधबार राति मृत्यु भएपछि उनको शव व्यवस्थापन गर्नुपर्ने भएकाले बिहीबार सेवा बन्द गरिएको अस्पतालका निर्देशक डा अर्जुन आचार्यले जानकारी दिनुभयो । स्याङ्जाको आँधीखोला गाउँपालिका सिरुबारीका पुरुषमा मधुमेह र निमोनियाको समेत समस्या थियो ।

उनलाई श्वासप्रश्वासमा समस्या भएपछि यही असार ८ गते पोखरा ल्याएर भेन्टिलेटरमा राखी उपचार गरिएको थियो । डा आचार्यका अनुसार आज शव व्यवस्थापन गरिएपछि शुक्रबारदेखि सबै सेवा नियमित सञ्चालन हुनेछ ।

गण्डकीमा यसअघि जेठ २५ गते स्याङ्जा, वालिङ –३ का ५८ वर्षीय पुरुषको क्षेत्रीय अस्पतालको आइसोलेशनमा मृत्यु भएको थियो । आज बिहान चार जिल्लाका ११ जनामा सङ्क्रमण पुष्टि भएसँगै गण्डकी प्रदेशमा सङ्क्रमित ७५३ जना पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । उपचाररत सङ्क्रमितमध्ये गण्डकीमा ९१ जना निको भएर घर फर्किसकेका छन् ।

प्रकाशित मिति : June 25, 2020 at 12:00 pm