२२ असार २०८३, सोमबार | Mon Jul 6 2026

टोखा नगरपालिकाको बजेट एक अर्ब ५८ करोड ४१ लाख

११ असार, काठमाडौँ । टोखा नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ का लागि रु एक अर्ब ५८ करोड ४१ लख ७७ हजारको बजेट प्रस्तुत गरेको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखा नगरपालिकाले बुधबारको सातौँ नगरसभामा आगामी आवका लागि उक्त बजेट प्रस्तुत गरेको हो । नगरपालिकाका उपप्रमुख ज्ञानमाया डङ्गोलले प्रस्तुत गर्नुभएको बजेटमा पूँजीगततर्फ रु एक अर्ब ४४ करोड र कार्यालय सञ्चालनको लागि रु १४ करोड १५ लाख रहेको छ ।

नगरपालिकाले प्रस्तुत गरेको बजेटमा स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिएको छ । टोखाले विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको नियन्त्रणका लागि स्वास्थ्य क्षेत्रलाई प्राथमिकता राखेर बजेट विनियोजन गरेको हो ।

टोखाले प्रस्तुत गरेको बजेटमा स्वास्थ्यका लागि रु तीन करोड, शिक्षाका लागि रु एक करोड ६० लाख, कृषिलाई रु ५० लाख, महिला विकासका लागि रु ३० लाख, पशुसेवाका लागि रु ३० लाख, सहकारीका लागि रु ३० लाख रहेको छ । यस्तै, टोखाले चालु नगरका विकासका आयोजनाका लागि रु दुई करोड २५ लाख विनियोजन गरेको छ । बुधबारको नगरसभामा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

प्रकाशित मिति : June 25, 2020 at 8:24 am