१५ जेष्ठ २०८३, शुक्रबार | Fri May 29 2026

अन्नपूर्ण गाउँपालिकाकाे बजेट ६६ करोड १२ लाख

१० असार, पोखरा । कोभिड १९–को महामारी रोकथामसँगै यसका कारण रोजगारी गुमाएकालाई अवसर दिँदै उत्पादन र उत्पादकत्व वृद्धिलाई प्राथमिकतामा राखेको कास्कीको अन्नपूर्ण गाउँपालिकाले आर्थिक वर्ष २०७७/७८ का लागि रु ६६ करोड १२ लाखको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाद्वारा आज यहाँ आयोजित बजेट सार्वजनिक कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष सगुन गुरुङले आव २०७७/७८ का लागि चालु तर्फ रु ४३ करोड २३ लाख १८ हजार र पूँजीगत तर्फ २२ करोड ८८ लाख ८२ हजार बजेट विनियोजन गरिएको जानकारी दिनुभयो । विषयगत समिति अन्तर्गत बजेट बाँडफाँट गरिएको जानकारी दिँदै उहाँले पूर्वाधार विकासतर्फ रु १६ करोड ५४ लाख, आर्थिक विकास तर्फ तीन करोड ४९ लाख, सामाजिक विकास तर्फ ३७ करोड ४० लाख विनियोजन गरिएको छ ।

त्यस्तै वन, वातावरण तथा विपद् व्यवस्थापनमा रु एक करोड १३ लाख, सुशासन तथा संस्थागत विकासमा ७ करोड ५५ लाख विनियोजन गरिएको छ । गाउँपालिकाले कोरोनाका कारण वैदेशिक रोजगार गुमाएर नेपाल फर्किएका युवालाई अवसरको रूपमा उपयोग गर्दै उनीहरुको अनुभव, सीप क्षमताको समुचित प्रयोग गरी उत्पादनमा आधारित कृषि, पशुपालन, पर्यटन, निर्माण र साना घरेलु उद्योगमा आधारित कार्यमा सहभागी गराई रोजगारका अवसर सिर्जना गरिने नीति तथा कार्यक्रममा अघि सारेको थियो ।

कृषि क्षेत्रको विकास र प्रवद्र्धन गर्न गाउँपालिकाभित्रका विभिन्न कृषियोग्य जमिनलाई सम्भाव्यताका आधारमा तरकारी, फलफुल तथा नगदेबालीका पकेटक्षेत्रको रूपमा घोषणा गर्दै कृषिको आधुनिकीकरण एवं व्यवसायीकरण गर्न प्रोत्साहित गरिनेलगायतका नीति लिएको छ । बजेटमा गाउँपालिकाभित्र पूर्वाधार विकास अन्तर्गत बाटोघाटो, पदमार्ग, पुरातात्विक सम्पदा आदि कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ । त्यस्तै लक्षित वर्ग तथा समुदायको सशक्तीकरण, खानेपानी, पर्यटन प्रवद्र्धन, स्थानीय रैथाने जातको संरक्षणका साथै खाद्य सुरक्षा तथा खाना संरक्षण कार्यक्रम लगायतलाई जोड दिइएको छ ।

प्रकाशित मिति : June 24, 2020 at 3:43 pm