८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

एउटाको गर्भ, अर्कोसँग विवाह

– नानीमैया कटवाल

८ असार, सप्तरी । एक १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–३ सकरपुराका २५ वर्षीय लालबहादुर मुखिया पक्राउ परेका छन् । तीन महिनाकी गर्भवती पीडितले आरोपितको बलात्कारबाट गर्भ रहेको भन्दै जिल्ला प्रहरी कार्यालयमा गत मङ्गलबार दिएको उजुरी दर्ता गरी आरोपितलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ ।

बालिकाले गाईबस्तुका लागि घाँस काट्न खोलाको चौरीतिर गएको बेला एक्लै भएको मौका पारी लालबहादुरले भुइँमा लडाई बलात्कार गरेको र उनकै गर्भ रहेको बताएपछि कारवाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय, सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताउनुभयो । विवाहित लालबहादुर एक छोरा र एक छोरीका बुबा हुन् । पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा स्वास्थ्य परीक्षण तथा भिडिओ एक्सरे गरिएको छ ।

यसअघि गाउँमा भएको पञ्चेती (छलफल) ले गर्भवती बालिकाको विवाह वैशाख २८ गते गाउँकै १८ वर्षीय बालकसँग गरिदिएको स्थानीय गीता देवले बताउनुभयो । “उतिबेला गाउँमा भएको पञ्चेतीमा बालिकाले एउटाको गर्भ रहेको बताउनुभयो, अहिले लालबहादुरको गर्भ भन्दै उजुरी दिनुभयो”, देवले भन्नुभयो, “यसरी कुरो फेरेपछि गाउँभरि तनाव बढेको छ ।”

पीडितले गाउँको भेलामा पञ्चेती गर्ने बचाई मुखिया र किसुन मुखियाले सिकाएअनुसार आफूले उतिबेला झुटो कुरा बोलेको बताएपछि अनुसन्धानका लागि प्रहरीले पञ्चलाई समेत आइतबार नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको थियो । बालिकाको बयानका आधारमा दुई जना पञ्चलाई समेत सोधपुछका लागि ल्याइएको र उहाँहरूलाई तारेखमा रिहा गरिएको प्रनाउ भारतीले जानकारी दिनुभयो । प्रनाउ भारतीले लालबहादुरविरुद्ध बलात्कारको उजुरी दर्ता गरी थप अनुसन्धान थालिएको जानकारी दिनुभयो ।

बलात्कारको उजुरी दर्ता भएपछि अहिले पञ्च बालिकाको बयान परिवर्तन गराउन र बालिकाको विवाह आरोपितसँग गराई दिन सक्रिय भएका छन् । बालिकाले कहिले पञ्चले सिकाएर त कहिले विवाह गरेका किशोरको आमाले सिकाएर बोली परिवर्तन गरेको स्थानीयवासीको भनाइ छ । बालिकाले भने निकै दबाब र मानसिक तनावमा परेको बताउनुभयो ।

ग्रामीण भेगमा कानूनभन्दा व्यवहार ठूलो भन्ने मान्यता रहेकाले गाउँहरूमा कथित बोक्सी, बालविवाह, बलात्कार, बहुविवाह, चोरी, लागू औषध, कुटपिटलगायत सबैजसो घटनामा पञ्चायत बसेर निर्णय गर्ने चलन रहेको अधिवक्ता तथा अधिकारकर्मी मीना देव बताउनुहुन्छ । अधिवक्ता देवले धेरैजसो महिला हिंसाका घटना गाउँघरमै बसेर टुङ्ग्याइने गरेकाले महिलाले असुरक्षित महसुस गरेको बताउनुभयो ।

प्रकाशित मिति : June 22, 2020 at 8:42 am