२४ आश्विन २०८३, शनिबार | Sat Oct 10 2026

दश महिनामा ३० अर्ब बढीको धितोपत्र बिक्रीको अनुमति

७ असार, काठमाडौँ । नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेवोन) ले चालू आर्थिक वर्षको १० महिनाको अवधिमा कूल रु ३० अर्ब ८९ करोड बराबरको धितोपत्र बिक्रीका लागि अनुमति दिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत वैशाख मसान्तसम्म धितोपत्र बजारमा भए गरेका काम कारवाहीको जानकारी दिँदै बन्दाबन्दीको अवधिमा समेत शेयर बजारमा आशातित काम भएको पाइएको छ ।

केन्द्रीय बैंकका अनुसार समीक्षा अवधिमा बोर्डले रु २१ अर्ब ४५ करोड बराबरको ऋणपत्र बिक्रीका लागि अनुमति दिएको छ । यस्तै रु चार अर्ब ४१ करोड बराबरको हकप्रद शेयर, रु तीन अर्ब २३ करोड बराबरको साधारण शेयर र रु एक अर्ब ८० करोड बराबरको सामूहिक लगानी कोष (म्युचुअल फण्ड) गरी रु ३० अर्ब ८९ करोड बराबरको धितोपत्र निष्काशन गर्न अनुमति दिएको बैंकले जनाएको छ ।

 

गत वैशाख मसान्तमा धितोपत्र बजार पूँजीकरण रु १५ खर्ब ३६ अर्ब ४२ करोड कायम भएको छ । गत असार मसान्तमा बजार पूँजीकरण रु १५ खर्ब ६७ अर्ब ५० करोड रहेको थियो । गत असारको तुलनामा वैशाखमा आइपुग्दा रु ३१ अर्ब ५० करोडले कूल बजार पूँजीकरणमा कमी आएको हो । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकृत कम्पनीको सङ्ख्या २१२ रहेको छ । सूचीकृत कम्पनीमध्ये १४८ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ३३ जलविद्युत् कम्पनी, १९ उत्पादन र प्रशोधन उद्योग, चार/चार होटल तथा व्यापारिक संस्था र अन्य समूहका चार कम्पनी रहेका छन् ।

गत असारमा सूचीकृत कम्पनीको सङ्ख्या २१५ रहेको थियो । सूचीकृत कम्पनीमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पूँजीकरणको हिस्सा ८०.१ प्रतिशत रहेको छ । त्यसैगरी जलविद्युत् कम्पनीको हिस्सा ५.९ प्रतिशत, उत्पादन र प्रशोधन उद्योगको हिस्सा ३.८ प्रतिशत, होटेलको हिस्सा १.३ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.३ प्रतिशत तथा अन्य समूहका कम्पनीको हिस्सा ८.६ प्रतिशत रहेको छ ।

स्टकमा गत वैशाखसम्म सूचीकृत कूल चार अर्ब ७० करोड शेयरको चुक्ता मूल्य रु चार खर्ब ६० अर्ब ६१ करोड रहेको छ । चालू आवको १० महिनामा रु २६ अर्ब २५ करोड बराबरका बोनस शेयर, रु २१ अर्ब ४६ करोड बराबरका ऋणपत्र रु १२ अर्ब १६ करोड बराबरका साधारण शेयर, रु पाँच अर्ब ७५ करोड बराबरका सामूहिक लगानी कोष (म्युचअल फण्ड), रु चार अर्ब ११ करोड बराबरका हकप्रद शेयर र रु ११ अर्ब ८३ करोड बराबरका अन्य गरी कूल रु ८१ अर्ब ५५ करोड बराबरका थप धितोपत्र सूचीकृत भएका केन्द्रीय बैंकले जनाएको छ ।

प्रकाशित मिति : June 21, 2020 at 6:27 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/