कैलालीको त्रिनगर भन्सार नाकाबाट ८३ हजार नेपाली भित्रिए
७ आसार, कैलाली । कैलालीको त्रिनगर भन्सार सीमानाका भई भित्रिने नेपालीको उद्धारकार्य अहिले पनि जारी छ । कोरोना भाइरस सन्त्रासका कारण भारतका विभिन्न शहरबाट हिजोआज पनि नेपाली नागरिक त्रिनगर नाका हुँदै भित्रिने क्रम रोकिएको छैन । सो नाकाबाट हालसम्म ८३ हजार २० नेपाली स्वदेश भित्रिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो ।

उहाँले जेठ ११ देखि २६ गतेसम्म सीमानाका हुँदै भित्रिने नेपालीको सङ्ख्या धेरै हुने गरेको भए पनि अहिले भने भित्रिनेको सङ्ख्या घट्दो क्रममा रहेको बताउनुभयो । “शुरुका दिनमा दैनिक छ हजारसम्म नेपाली भित्रिने गरेका भए पनि त्यो सङ्ख्या अहिले ह्वात्तै घटेको छ”, सूचना अधिकारी जोशीले भन्नुभयो, “आजभोलि दिनमा चार÷पाँच सयसम्म नेपाली भित्रिने गरेका छन् ।” आउने जति नेपाली नागरिक आइसकेका र भारतका धेरैजसो ठाउँमा लकडाउन खुकुलो भई उनीहरुले काम गर्ने अवसर मिलेकाले पनि अहिले भित्रिनेको सङ्ख्या कम रहेको हुनसक्ने उहाँको अनुमान छ ।
प्रकाशित मिति : June 21, 2020 at 11:28 am





