१५ जेष्ठ २०८३, शुक्रबार | Fri May 29 2026

१ खर्ब ८५ अर्बकाे ५ जलविद्युत् र २ सिमेन्ट उद्योगले लगानी बोर्डबाट पाए स्वीकृति

६ असार, काठमाडाैँ । लगानी बोर्डले रु १ खर्ब ८५ अर्ब ४३ करोड बराबरका सातवटा परियोजनाको लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार सम्पन्न बोर्डको ४४औँ बैठकले पाँचवटा जलविद्युत् परियोजना र दुईवटा सिमेन्ट उद्योगका लागि उक्त रकम बराबरका सात परियोजना स्वीकृत गरेको हो ।

बैठकले ३२७ मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी जलविद्युत् परियोजना–२ का लागि रु ७८ अर्ब ६५ करोड, ४२.९ मेगावाटको आँखुखोला जलविद्युत् परियोजनाका लागि रु ६ अर्ब ३० करोड, ९७.२ मेगावाटको इसुवाखोला जलविद्युत्का लागि रु १३ अर्ब ५७ करोड, ५७.३ मेगावाटको म्याग्दी खोला जलविद्युत्का लागि रु १० अर्ब ३१ करोड र १६४ मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजनाका लागि रु २८ अर्ब ६ करोडबराबरको लगानी स्वीकृत गरेको हो ।

त्यसैगरी बैठकले दाङ सिमेन्ट इन्डस्ट्रिजका लागि रु ३२ अर्ब ५० करोड र सम्राट सिमेन्ट उद्योगका लागि रु १५ अर्ब ५ करोड बराबरको लगानी स्वीकृत गरेको बोर्डले जनाएको छ । बाँकेको कोहलपुर र कपिलवस्तुको वाणगङ्गामा सञ्चालन हुने २० मेगावाट स्टोरेज क्षमतासहितको १२५ मेगावाटका दुई छुट्टाछुट्टै सौर्य ऊर्जा परियोजनाको सार्वजनिक–निजी साझेदारीमा विकास तथा सञ्चालनका लागि अध्ययन गर्न राइजेन इनर्जी सिङ्गापुर जेभी पिटिई लिमिटेडलाई सर्वेक्षणको अनुमति पनि बैठकले दिएको छ ।

कोभिड–१९ का कारण नेपाल–चीन मैत्री औद्योगिक स्थल, दमक, मुक्तिनाथ केबलकार, मल्टिमोडल लजिस्टिक्स पार्क र प्राइभेट फ्रेट टर्मिनल एण्ड बल्क ह्यान्डलिङ फ्यासिलिटिज् परियोजनाको विस्तृत अध्ययन प्रतिवेदन पेश गर्ने समयावधि बैठकले थप गरेको छ ।

प्रकाशित मिति : June 20, 2020 at 1:02 pm