राति १० बजेदेखि बिहान ५ बजेसम्म हिँडडुल गर्न नपाइने
५ असार, काठमाडाैँ । अत्यावश्यक कामबाहेक राति १० बजेदेखि बिहान ५ बजेसम्म हिँड्डुलमा सरकारले रोक लगाएको छ। शुक्रबार गृह मन्त्रालयले बन्दाबन्दीलाई व्यवस्थित गर्नेसम्बन्धी मापदण्ड २०७७ जारी गर्दै अत्यावश्यक कामबाहेक आफू रहेको आवास वा कार्यालयबाट आवतजावत नगर्न भनेको छ।
गृह मन्त्रालयले तोकिएको सेवा प्रदायक संस्थाहरू व्यवसायिक आदिले आ-आफ्ना निकायबाट सेवा प्रवाह गर्दा सेवा प्रदायक र सेवाग्राहीबीचको २ मिटरको सामाजिक दूरी कायम गर्ने/गराउने र सम्भव भएसम्म सामानहरूको स्यानिटाइज गर्न भनिएको छ। मालसामान ढुवानी गर्ने कुनै पनि प्रकारको सवारी साधनहरूले चालक,सहचालकबाहेक अन्य कुनै पनि यात्रुहरूको ओसारपसार गर्न नपाइने नियम समेत सरकारले बनाएको छ।

विवाह-ब्रतवन्ध मृत्यु-संस्कार चाडपर्व पूजापाठ लगायतका सामाजिक तथा साँस्कृतिक कार्यक्रम गर्नैपर्ने अवस्थामा १५ जनाभन्दा बढी भेला गर्न नपाइने प्रावधान राखिएको छ। यस्ता कार्यमा सामाजिक दूरी कायम गर्नुपर्ने समेत भनिएको छ। त्यस्तै सेवा प्रदायक संस्थाहरूले दुई सिफ्टमा कार्यालय सञ्चालन गर्नुपर्ने भनिएको छ भने कार्यालय प्रवेश विन्दुमा अनिवार्य रूपमा ज्वरो नाप्ने, स्यानिटाइजर वा साबुन पानीले हात धोएर मात्र प्रवेश गर्नुपर्ने व्यवस्था मिलाउनुपर्ने प्रावधान सरकारले बनाएको छ।
उद्योग कलकारखाना,भौतिक पूर्वाधार,विकास निर्माण जस्ता क्रियाकलापहरू सञ्चालन गर्दा एक स्थानमा एक पटकमा १० जना भन्दा बढी व्यक्तिहरू जम्मा हुन नपाउने व्यवस्था गर्न समेत गृहले निर्देशन गरेको छ। यसैगरी कार्यालयमा सबैले अनिवार्य मास्क लगाउनैपर्ने,कर्मचारीहरूबीच दुई मिटरको दूरी कायम हुनुपर्ने,एउटै कोठामा धेरै कर्माचारी बस्नपर्ने भएमा निश्चित दूरी कायम गर्नुपर्ने नियम सरकारले बनाएको छ।
सम्भव भएसम्म अनलाइन सेवामार्फत् सेवा दिने र सो व्यवस्था नभएमा सेवाग्राहीहरूसँगको सम्पर्क दूरीलाई कम गर्न झ्यालबाट सेवा दिन सकिने व्यवस्था मिलाउन र शुल्क वा राजस्व लिँदा नगदमा नभई बैंक भौचरमार्फत् कारोबार गर्न अनिवार्य गरिएको छ। यस्तै भीडभाड नगरी सम्बन्धित व्यक्तिमात्र आवश्यक कागजात लिएर कार्यालयमा सेवा लिन जाने र अनिवार्य रूपमा मास्क लगाउनपर्ने समेत प्रावधान सरकारले राखेको छ।
कार्यालय परिसरमा सेवाग्राही जाँदा २ मिटरको भौतिक दूरी कायम राख्नैपर्ने र आफ्नो काम सम्पन्न हुने बित्तिकै कार्यालय बाहिर निस्कने र अनावश्यक भीडभाड नगर्न समेत भनिएको छ।


प्रकाशित मिति : June 19, 2020 at 7:35 pm





