१८ घण्टापछि खुल्यो अवरुद्ध नारायणगढ–मुग्लिन सडक
४ असार, चितवन । माथिबाट पहिरो खसेपछि अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड १८ घण्टापछि खुलेको छ । बिहान ४ः१५ बजे खसेको पहिलो राति १० बजे पन्छाएर सडक नियमित गरिएको हो । नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इञ्जिनियर शिव खनालका अनुसार सो सडकको चार किलोमा पहिरोले ४५ मिटर सडक ढाकेको थियो ।

दुवैतर्फबाट लोडरले दिनभर लगाएर पहिरो पन्छाइएको उहाँले जानकारी दिनुभयो । शुरुआतमा खसेको पहिरो पन्छाएलगत्तै सोही ठाउँमा पुनः पहिरो खस्दा समय लागेको उहाँले जानकारी दिनुभयो । पहिरो खसेसँगै सडक अवरुद्ध हुँदा सयौँ सवारी सडकमा अलपत्र परेका थिए । सडक खुलेसँगै सवारी गन्तव्यतर्फ लागेका छन् । सवारीको चापका कारण सवारी एकतर्फी मात्र सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रकाशित मिति : June 18, 2020 at 9:13 am





