कोरोना संक्रमणबाट मृत्यु भएकी महिलाकाे शव व्यवस्थापन गर्न गाउँपालिका अध्यक्षको गाडी प्रयोग
३ असार, कोहलपुर । कोरोना संक्रमणबाट मृत्यु भएकी एक महिलाको शव व्यवस्थापनका लागि पालिकाको गाडी प्रयोग भएको छ । बाँकेको कोहलपुुरस्थित नेपालगञ्ज मेडिकल कलेज आइसियूमा उपचार गराइरहेकी बाँके बैजनाथपुरकी एक महिलाको मृत्यु भएपछि बैजनाथ गाउँपालिकाको गाडी शव ल्याउन प्रयोग गरिएको गाउँपालिका अध्यक्ष मानबहादुर रुचालले जानकारी दिनुभयो ।

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल, नेपाली सेना तथा अन्य सरोकार राख्ने निकायले समेत शव सुरक्षित रुपमा दाहसंस्कार गर्ने स्थलसम्म पुर्याउन कुनै चासो नदिएपछि आफूले चढ्ने गाडी प्रयोग गरिएको अध्यक्ष रुचालको भनाइ छ । उहाँले आफूले प्रयोग गर्दै आइरहेको गाडीमा शव बोकेर दाहसंस्कार गर्ने ठाउँ मानखोलासम्म पुर्याइएको बताउनुभयो ।
निमोनियाबाट पीडित ती महिलाको गत जेठ ३० गते आइसियूमा राखेर उपचार गराउँदा गराउँदै यही असार १ गते मृत्यु भएको थियो । मृत्युअघि नै कोरोना परीक्षणका लागि लिइएको स्वाब परीक्षण गर्दा ती महिलाको मङ्गलबार रिपोर्ट पोजेटिभ आएपछि शव उठाउन अस्पताल प्रशासनले नमानेको आरोप अध्यक्ष रुचालले लगाउनुभयो ।
प्रकाशित मिति : June 17, 2020 at 7:30 pm





