२६ जेष्ठ २०८३, मंगलबार | Tue Jun 9 2026

सामाजिक सुरक्षा भत्तामा कराेडाैँ भ्रष्टाचारभएपछि जिसस नुवाकोटमा अख्तियारको छापा

१० जेठ, नुवाकोट । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला समन्वय समिति (जिसस) को कार्यालय नुवाकोटमा छापा मारेर सामाजिक सुरक्षाभत्ता वितरणसम्बन्धी सक्कल कागजात जफत गरेको छ ।

यहाँ वितरण भएका सामाजिक सुरक्षा भत्ताको सूचीमा मृत्यु भइसकेका र हँदै नभएका व्यक्तिको नाममा रकम निकासा भएको सूचना बाहिर आएपछि अख्तियारको टोलीले छापा मारेको हो ।

बुधबार अख्तियारको टोलीले जिससको कार्यालयमा पुगेर आव २०६८/०६९ देखि चालु आव २०७४/०७५सम्मको सामाजिक सुरक्षा भत्ताको कागज नियन्त्रणमा लिएर कारबाहीको लागि अनुसन्धान शुरु गरेको अख्तियारका शाखा अधिकृत कृष्णबहादुर दाहालले जानकारी दिनुभयो ।

“पहिलो चरणमा साविक कुमरी गाविसले पछिल्लो पाँच आर्थिक वर्षमा वितरण गरेको सामाजिक सुरक्षा भत्ताको सक्कल कागजात नियन्त्रणमा लिएर छानबिन थालेका छौँ”–दाहालले भन्नुभयो, “अन्य स्थानको कागजात आवश्यकताको आधारमा नियन्त्रणमा लिँदै जाने योजना बनाएका छौँ ।”

अख्तियारले आव २०६८/६९ देखि २०७३/७४ सम्मको फाइल जिससबाट र चालु आव २०७४÷०७५ को फाइल बेलकोटगढी नगरपालिकाबाट मगाउन लगाएर नियन्त्रणमा लिएको जनाएको छ । कुमरीलगायतका केही स्थानमा वितरण हुँदै आएको सामाजिक सुरक्षा भत्ता मृत्यु भइसकेका र हुँदै नभएका व्यक्तिलाई समेत कीर्ते कागज खडा गरी रकम निकासा भएको भन्दै सरोकारवालाले सूचना बाहिर ल्याएपछि अख्तियारले सक्रियता देखाएको हो ।

प्रकाशित मिति : May 24, 2018 at 8:23 am