७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

तरकारीखेतीमा भविष्य खोज्दै पोखराका ३ युवा

३० जेठ, पोखरा । पोखरा महानगरपालिका वडा नं १५ मा तीन युवाले सामूहिकरुपमा शुरु गरेको तरकारीखेतीबाट आम्दानी गर्न थालेका छन् । लामो समय विदेशमा बिताएका दुई र स्वदेशमै केही गर्नुपर्छ भन्ने सोच भएको एक युवा मिलेर शुरु गरेको सो खेतीले उत्पादन दिन थालेपछि बिक्री गरेर आम्दानी हुन थालेको हो । उहाँहरुले भाडामा लिएको १४ रोपनी जग्गामा लगभग रु ३० लाखको लगानीमा निर्माण गरिएका १४ वटा प्लाष्टिक टनेलभित्र गोलभेँडा, काँक्रो, सिमी, करेला, भान्टा, बोडी, धनियाँलगायत विभिन्न मौसमी तथा बेमौसमी तरकारीखेती गर्दै आउनुभएको छ ।

पहिलो चरणमा काँक्रा, करेला, सिमी र धनियाँ बिक्रीबाट रु ५० हजारभन्दा बढी आम्दानी गरेको र ६ वटा टनेलभित्र लगाएको गोलभेँडाले पनि उत्पादन दिन शुरु गरेको उहाँहरुले जानकारी दिनुभयो । “टनेलभित्र सिर्जना र अमिता जातका एक हजार २०० बिरुवा रोपकेका छौँ”, १० वर्ष दुवई बसेर आएका दीपेन्द्र बाँस्तोलाले भन्नुभयो, “अहिले गोलभेँडाले आम्दानी दिन शुरु गरेको छ दैनिक ५० किलो उत्पादन हुँदै आएको छ ।”

उहाँका अनुसार बारीमा उत्पादित तरकारी बिक्रीमा कुनै पनि समस्या रहेको छैन, तरकारी खरिद गर्न उपभोक्ता बारीमै आउने गरेका छन् ।विदेशमा भन्दा स्वदेशको माटोमा पसिनाले भिजाउने हो भने आम्दानी गर्न सकिन्छ भने तरकारीखेतीतर्फ लागेका ध्रुव कोइरालाले भन्नुभयो, “यतिखेर हामीले तरकारीखेतीमा भविष्य खोज्न थालेका छौँ ।” उहाँले मलेसिया र दुवई १० वर्ष बिताउनुभएको थियो ।

तरकारी बिक्रीबाट मासिक एक लाख ५० हजार आम्दानी गर्ने लक्ष्य रहेको र अहिले तीनैजनाको बिहानदेखि झमक्क साँझसम्म तरकारीबारीको तरकारी बिक्री वितरणसँगै रेखदेख गर्नुदैनिकी बनेको उहाँले राससलाई बताउनुभयो । स्वदेशमै केही गर्न सकिन्छ भन्ने सोचका साथ सामूहिक तरकारी खेतीतर्फ लाग्नुभएका अर्का युवा डिल्लीराम अधिकारीका अनुसार ज्ञानसिपको अभावमा सोचे जस्तो आम्दानी गर्न कठिन भएको छ ।

तरकारीखेतमा चुनौती भएको महसुस भएको छ, रोगको पहिचान गर्न नसक्दा पहिलोपटकमै सिमी र काँक्रोबाट सोचे जस्तो फाइदा लिन सकिएन उहाँले भन्नुभयो, “उत्पादनकै अवस्थामा रोग लाग्यो बन्दाबन्दीका कारणले समयमा उपचार गर्न प्राविधिकको अभाव भएका कारण नोक्सान व्यहोर्नुपर्यो ।” टनेलभित्र लटरम्म फलेको गोलभेँडा उत्पादन भई बिक्री गर्न शुरु गरेको भए पनि रोग लाग्छ कि भन्ने चिन्ताले सताउने गरेको बताउँदै उहाँले राज्यबाट केही सहयोग पाउने हो भने तरकारीखेतीलाई निरन्तरतासँगै विस्तार गर्दै जाने विश्वास व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : June 12, 2020 at 2:44 pm