पाँच दिनदेखि नर्भिकमा उपचाररत महिलामा कोरोना संक्रमण पुष्टि, पाटन अस्पताल रिफर गरियो
१९ जेठ, काठमाडौँ । राजधानीको नर्भिक अस्पतालमा पाँच दिनदेखि उपचार गराइरहेकी एक बिरामीको कोरोना संक्रमण पुष्टि भएको छ । बागमती प्रदेशको राजधानी हेटौँडाकी एक ६१ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । नर्भिक स्रोतका अनुसार कोरोना पुष्टि भएकी महिला बिहीबारदेखि अस्पतालमा उपचार गराइरहेका थिइन ।

महिलामा कोरोना पुष्टि भए लगत्तै सोमबार बिहान पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पाटन अस्पताल रिफर गरिएको छ । नर्भिक अस्पतालको आइसोलेसनमा उपचार गराइरहेकी महिला भए पनि कोरोना पोजेटिभ पाइएपछि रिफर गरिएको अस्पताल स्रोतले जनाएको छ । कोरोना संक्रमित महिला हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ की हुन ।
ती महिला मुटको बिरामी थिइन । अन्य समयमा पनि उनी मुटको उपचारका लागि निरन्तर नर्भिक अस्पतालमै आउने गरेकी थिइन । बिहीबार स्वास्थ्यमा समस्या आएपछि नर्भिक ल्याइएको उनको सोही दिन स्वाब संकलन गरिएको थियो । केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको नमुना परीक्षणमा उनीमा कोरोना देखिएको हो । बिरामीको संगतमा रहेका चिकित्सक र स्वास्थ्यकर्मीको समेत स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको नर्भिक स्रोतले बताएको छ ।
प्रकाशित मिति : June 1, 2020 at 3:00 pm





