२२ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 5 2026

गुनासो नआउने गरी पूर्ण क्षमतामा सञ्चालित हुन ‘हब’ अस्पतालहरूलाई मन्त्री ढकालकाे निर्देशन

१७ जेठ, काठमाडौँ । सरकारले कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या बढेसँगै सबै हब अस्पताललाई पूर्ण क्षमतामा सञ्चालिन हुन निर्देश गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले ती हब अस्पतालका प्रमुखलाई शुक्रबार मन्त्रालयमा बोलाएर कुनै गुनासो नआउने गरी पूर्ण क्षमतामा सञ्चालित हुन निर्देशन दिनुभएको हो । सूचना प्रणाली बलियो बनाउन र एकआर्कामा सहकार्यको भावना विकास गर्न आवश्यकता रहेको भन्दै मन्त्री ढकालले स्याटेलाइट अस्पतालले हब र हब अस्पतालले मन्त्रालयलाई नियमित रिपोर्टिङ गर्ने गरी काम गर्न पनि निर्देशन दिनुभयो ।

उहाँले नीति, निर्देशिका, कार्यविधिमा कुनै पनि समस्या आए तुरून्त परिवर्तन गर्न सकिने भन्दै हरेक समस्याको विकल्पसहितको समाधान खोजिनुपर्ने बताउनुभयो । कुनै पनि अस्पतालाई स्वास्थ्य सामग्रीको अभाव हुन नदिने भन्दै मन्त्री ढकालले चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिनुभयो । मन्त्री ढकालले मानवस्रोतको परिचालनसम्बन्धी स्पष्ट योजना बनाउन र बिरामी बढ्दै जाँदा श्ययाको व्यवस्थापनका बारेमा पूर्वतयारी गरेर कार्यान्वयनमा जान निर्देशन पनि दिनुभयो । उहाँले बिरामी सिफारिसका लागि स्वास्थ्य आपत्कालीन केन्द्रको नेतृत्वमा तत्काल संयन्त्र निर्माण गरी कार्यान्वयन गर्नसमेत निर्देशन दिनुभयो ।

मन्त्री ढकालका प्रेस सल्लाहकार माधवप्रसाद तिवारीका अनुसार सो अवसरमा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका कार्यकारी निर्देशक डा प्रेमकृष्ण खड्गा, वीर अस्पतालका कार्यकारी निर्देशक केदार सेञ्चुरी, वीरेन्द्र सैनिक अस्पतालका डा उदय बज्राचार्य, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका कार्यकारी निर्देशक डा विष्णुप्रसाद शर्मा, सिभिल सर्भिस अस्पतालका कार्यकारी निर्देशक डा दीर्घराज आरसी र भक्तपुर अस्पतालका डा सुनिल ढुङ्गेल, स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठ, मन्त्रालयका विशेषज्ञ डा दीपेन्द्ररमण सिंह, मन्त्रालयका विज्ञ सल्लाहकार डा खेमबहादुर कार्की, इन्सिडेन्ट कमाण्ड सिस्टमका प्रमुख डा गुणराज लोहनीलगायत सहभागी हुनुहुन्थ्यो ।

प्रकाशित मिति : May 30, 2020 at 11:06 am