७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

जलेश्वरमा एकै दिन १७ जनामा कोरोना पुष्टि

१६ जेठ, जलेश्वर । महोत्तरी जिल्ला सदरमुकाम जलेश्वरमा बिहीबार १७ जनामा कोरोना पोजेटिभ देखिएपछि जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले पिपरा गाउँपालिका, पिपरा स्वास्थ्यचौकीमा ५० शय्या र बर्दिबास नगरपालिकामा ५० शय्याको आइसोलेशन स्थापना गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीको अध्यक्षतामा बसेको केन्द्रको आजको बैठकले क्वारेन्टिनमा बसेकाहरुको कोभिड पोजेटिभ केसको कन्ट्याक्ट ट्रेसिङ्ग तथा ट्राभेल हिस्ट्री स्थानीय तहले स्वास्थ्यकर्मीबाट तथा बाहिर रहेकाहरुको जिल्ला स्वास्थ्य कार्यालयबाट लिने निर्णय गरेको छ ।


बैठकले कोभिड–१९ रोगको संक्रमण नियन्त्रणका लागि हरेक स्थानीय तहले डेडिकेटेड एम्बुलेन्सको व्यवस्था गरी सोको जानकारी डिसिसिएमसी महोत्तरीलाई गराउन स्थानीय तहलाई अनुरोध गर्ने निर्णय गरेको छ । त्यस्तै जलेश्वर, भंगहा र मनरासिस्वा नगरपालिकाका क्वारेन्टिनमा कोभिड पोजेटिभ केस देखिएकाहरुको स्वाब संकलनका लागि आवश्यक पर्ने कम्तीमा २०० थान भिटिएमलगायत स्वास्थ्य सामग्री तथा जनशक्तिको व्यवस्था गर्न सामाजिक विकास मन्त्रालय प्रदेश नं २ जनकपुरधामलाई अनुरोध गर्ने निर्णय गरिएको छ ।

प्रकाशित मिति : May 29, 2020 at 12:28 pm