७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

चौरजहारी घटना प्रकरणः मानव अधिकार तथा शान्ति समाजद्धारा काठमाडाैँमा विरोध प्रदर्शन

१६ जेठ, काठमाडाैँ । रुकुम पश्चिमको चौरजहारी सोतीमा घटेको घटनाको निन्दा गर्दै सो घटनाको उच्च स्तरीय निष्पक्ष छानविन र दोषीहरुलाई कारबाहीको माग गर्दै मानव अधिकार तथा शान्ति समाज काठमाण्डौ शाखाको आयोजनामा जेठ १६ गते बिहान काठमाण्डौको बौद्धमा विरोध प्रदर्शन सम्पन्न भएको छ । ५ जना नागरिकको मृत्यु भएको, एक जनाको स्थिति अझै अज्ञात रहेको, कतिपयलाई कुटपिट गरिएको उक्त घटनाको निन्दा गर्दै, दोषीहरुलाई कानुन सम्मत कारबाही गर्न र भविष्यमा यस्ता घटना दोहोरिन नदिन उपयुक्त कदम चाल्नका लागि शान्ति समाजले ध्यानाकर्षण गराउँदै आएको छ ।

विरोध प्रदर्शनमा बोल्दै शान्ति समाजका केन्द्रिय सभापति उत्तम पुडासैनीले २५ वर्षदेखि शान्ति समाजले दलित अधिकार मानव अधिकार भन्ने नारासहित सामाजिक न्यायका लागि विभिन्न अभियान सञ्चालन गर्दै आएको बताउँदै रुकुम पश्चिमको घटनामा संलग्न दोषीहरुलाई कानुन सम्मत कारबाही नभए दण्डहीनता विरुद्ध देशव्यापी आन्दोलन थाल्ने बताउनुभयो ।

समाजका सल्लाहकार होमकान्त चौलागाई र काठमाण्डौ शाखा सभापति जगन्नाथ पुडासैनीले दण्डहीनताका कारण मानव अधिकार उल्लंघनका घटनामा वृद्धि भइरहेको बताउनुभयो । प्रदर्शनको संयोजन काठमाण्डौ शाखा सचिव ईश्वर पुडासैनीले गर्नुभएको थियो ।  यसैगरी मानव अधिकार तथा शान्ति समाज दाङ शाखाको आयोजनामा जेठ १५ गते तुलसीपुरमा प्रदर्शन सम्पन्न भएको थियो ।

प्रकाशित मिति : May 29, 2020 at 11:22 am