सिमानामा काँडेतार लगाउन माग गर्दै नेकपाका विद्यार्थी संगठनले सरकारलाई बुझाए ज्ञापनपत्र
२८ वैशाख, काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)काे विद्यार्थी संगठनले नेपालको सिमानामा काँडेतार लगाएर घेराबार गर्न माग गर्दै सरकारलाई ज्ञापनपत्र बुझाएका छन् ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई आइतबार ज्ञापनपत्र बुझाउँदै राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियूले सिमाना रक्षा गर्न सुरक्षा फौज राख्न र काडेतार लगाई घेराबार गर्न आग्रह गरेको हो ।

त्यस्तै सीमा समस्या दीर्घकालीन रुपमा हल गर्न उच्च तहबाट निर्णायक पहल लिन सरकारलाई आग्रह गरेको थियो । राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियूले गत मंसिरमा भारतले नेपाली भूमिसमेत समेटेर सार्वजनिक गरेको नक्सा खारेजी र वैशाख २६ गते भारतले नेपाली भूमि अतिक्रमण गरी बनाएको सडक सञ्चालन रोक्न पनि तत्काल कुटनीतिक पहल चाल्न सरकारको ध्यानाकर्षण गराएको छ ।
नेकपाको विद्यार्थी संगठनले तत्काल कुटनीतिक पहल गरी मिचिएका भूमि फिर्ता गर्न गराउन विशेष पहल लिन माग गरेको छ । ज्ञापनपत्र बुझ्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सीमा समस्या समाधान गर्न सरकारले कुटनीतिक पहल गरिरहेको बताएका छन् ।

प्रकाशित मिति : 16:14









