५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

हिमालः अर्थात् आफैँमा एक आश्चर्य (नियात्रा)


—प्रतीक ढकाल

आफ्ना हातैले छोइने दूरीमा सिंगो र नाङ्गो हिमाल नदेखुञ्जेल म पनि के ठान्थें भने ‘हिमाल’ भनेको एक किसिमको अग्लो पहाड नै हो जसका थाप्लामा बाह्रै महिना हिँउ अडिएको हुन्छ । आफ्नै  पैतालाले हिमप्रदेशको लामो दूरी नापुञ्जेलसम्म पनि म के ठान्थें भने ‘हिमनदी’ भनेको त्यही हिँउको आधा पग्लेको र आधा नपग्लेको रूप होला जो क्रमशः नदी बन्ने धूनमा ओरालिइरहेको हुन्छ । उपल्लो डोल्पाको २६ दिनको कठिन पदयात्रापछि लेखेको पुस्तक “हिमालपारि पुगेपछि” र त्यसैको अंग्रेजी संस्करण Beyond the Himalayas मा मैले “यसरी जन्मिने रहेछन् शिशु नदीहरू” र Infant rivers taking their motion भन्ने शीर्षकमा एउटा दुर्लभ फोटो पनि छपाएँ । ‘दुर्लभ’ यस अर्थमा कि त्यस्तो फोटो खिच्ने अवसर त्यस्तै दुर्लभ भूगोलमा पुग्दा मात्र दुर्लभ किसिमले नै प्राप्त हुने गर्छ । त्यतिको अनुभव हासिल गरेको मान्छे भएर पनि म शत प्रतिशत इमान्दारिताका साथ भन्छु— त्यो बेलामा पनि मैले ‘हिमनदी’ भनेको के हो भन्ने कुरो बुझेकै रहेंनछु । छापिएको तस्वीर सही हो, त्यसको दृश्य त झन दुर्लभ हो नै हो । तैपनि मेरो धारणामा परिपक्वताको अभाव नै रहेछ— त्यो बेलासम्म पनि ।

हिमाललाई मैले अलिकति बुझें भन्ने स्थिति तब मात्र आयो— जब २०६३ सालको शरद याममा मैले सगरमाथाको आधारशिविरसम्मको यात्रा गर्ने अवसर प्राप्त गरेँ । मेरा अघिल्ला यात्राहरू ‘पास’ मार्फत् हिमाललाई ‘पार’ गरेर पारिपट्टिको भूगोललाई कुल्चने ध्याउन्नमा मात्र सीमित भएका रहेछन् । मेरा अघिल्ला यात्राहरूले ‘हिमाल’ लाई बुझ्नमा असाध्यै कम र सकेसम्म धेरै बाटो हिँडेको मान्छे हुनमा बढी ‘उर्जा’ खर्च भएको पनि ठीक साँचो हो रहेछ । लिगामेन्ट लगायत मेरा ज्यानका ‘पूर्जा’ मा ह्रासकट्टी हुँदै गएको पनि ठीक साँचो हो रहेछ । र, यी दुबै खपत भएर पनि हिमाल सम्बन्धी मेरो ज्ञानको ‘बुर्जा’ चाँहि उँचो हुन नसकेको पनि ठीक साँचै हो रहेछ ।

 तर वि.सं.२०६३ को कार्तिकले मभित्र ठूलो परिवर्तन ल्यायो । मभित्र हलचल नै मच्चायो र मैले बल्ल हिमाललाई अलिकति भए पनि चिनेको अनुभूति जगायो । म त संसारकै गौरव ‘सगरमाथा’ लाई खोज्दै उसैको आधारशिविरमै पुगेंथें । कालापत्थरमा चढेंथें, खुम्बु क्षेत्रका चोला, रेञ्जोला र खोङमाला आदि सबै ‘पास’हरूका थाप्लाहरूबाट उसैलाई खोज्दै तन्काउँथें आँखाहरू । अनि, आधारशिविरमै रात बिताउन थालेपछि बल्ल थाहा पाएँ— म त ‘लोबुचे’ देखि नै हिमप्रदेशको यात्री पो भइसकेको रहेंछु । ‘गोरक्षेप’ बाट उँभो लागेपछि नै चढ्न थालेको रहेछु मैले सगरमाथा । तर भूलवश म त्यसलाई ‘बाटो’ ठानिरहेको थिएँ । म जुन जुन ठाउँमा पाइला टेक्दै अघि बढिरहेंथें— म त्यो सबैलाई ‘माटो’ ठानिरहेको थिएँ । आधारशिविरमा पुगेर हेर्दा पो थाहा भयो— म आफ्ना पाइतालामुनि पृथ्वी जत्रै ‘हिमाल’ भएको ठाउँमा उभिएर सिर्फ त्यसको बाहिर निस्केको टुप्पो लाई मात्रै हेरिरहेको रहेंछु । ‘नुप्चे’ छ अजंगले फैलिएको मेरा आँखासामु र म त्योभन्दा ठूलो हिमशिलामाथि उभिएर ‘नुप्चे’ लाई हेरिरहेंछु । वास्तवमै जब हामी ५००० मिटरमाथिको हिमरेखालाई नाघ्छौँ—तब त हामीले टेकेको ढुंगा, माटो र बाटो अनि हामीले देखेको हिमाल सबै सबै नै ‘हिमाल’ मात्र हुनेरहेछन् । त्यो ढुंगो पनि हिमाल हो, बाटो पनि हिमाल हो र हामीले टेकेको माटो पनि हिमाल नै हु ँदो रहेछ । धर्तीमु नि हुने झन ठूला ठूला अनि नदेखिने र ‘भू मिगत’ हिमालहरूले बाहिरका देखिने हिमालहरूलाई अड्याएका हु ँदा रहेछन् । समुद«मा देखिने ‘आइसबर्ग’ जस्तै पो रहेछ हिमाल त । ‘आइसबर्ग’ अर्थात् जसको पूरै जिउ चाँहि पानीमुनि नै लुकेको हुन्छ र टुप्पो मात्रै देखिन्छ बाहिरबाट हेर्दा ।

दुईतले घर जत्रा ठूला ठूला ढुंगाहरू आउँछन् बाटोमा । कुनै माथि चढ्दै र कुनैसँग तर्कँदै बाटो पार गर्नु पर्ने हुन्छ । चर्को घाम लागेका बेला यी ढुंगाहरू चल्छन् र हिँडाइ खतरापूर्ण हुन सक्छ । गाइडहरू भन्दै हुन्छन्— “याद गर्नोस् है, दिउँसो त ग्लेशियर चल्छ ।” अर्थात् यहाँ त जमीन भन्नु नै हिउँ हो र त्यो पग्लिएपछि ढुंगाहरू चल्न सक्छन् र नसोचेकै ठाउँमा पनि दुर्घटना हुन सक्छ ।

मैदानमै हिँडिरहेका हुन्छौं । तर अलि पर पुग्दा जमीन नै पूरै भत्किएको भेटिन्छ ठाउँ ठाउँमा । अनि, त्यो भत्किएको ठाउँमा देखिन्छ त्यहाँको जमीनको— ‘क्रस सेक्सन’ स्केच । बीसौ ं÷तीसौं फिट गहिरा यी पहिराहरूमा तल तल त झन नीलो हिउँ पो देखिन थाल्छ । हज्जारौ ं वर्षदेखि नपग्लेको नीलो हिउँ । चट्टानभन्दा कठोर भैसकेको यस्तो नीलो हिउँले ‘नट बोल्ट’ पनि लिन्छ । यस्तैमा ‘बल्टु’ कसेर र डोरी बाँधेर त हो नि हिमाल उक्लने बाटो बनाउने पनि । के तपाईंले बीसौं÷तीसौ ं फिट गहिरो इनारमा हिमाल भेट्टाउने कल्पना गर्नु भएको छ र कहिल्यै ? खुम्बु क्षेत्रको पदयात्राका प्रत्येक पाइलामा यस्तै अनौठा सत्य र अद्भु्त दृश्यहरूसँग साक्षात्कार हुन्छ ।

हो, यहाँ त इनारभित्र पनि हिमाल नै ‘फलेको’ हुन्छ ।

चेप्टा चेप्टा ढुंगाका टोपी लगाएका हिउँका खम्बाहरू पनि प्रशस्तै देखिन्छन् यहाँ । ढुंगाले घाम छेकेका ठाउँको हिउँ मात्र पग्लन पाउदैन र बँच्छ— तर अरु ठाउँको सिंगै सतह नै पग्लेर तल जान्छ र देखा पर्छन् सैनिक मञ्चका सैनिककै मूर्तिहरूझैं ढुंगाका टोप लगाएका हिम सैनिकका मूर्तिहरू यहाँ । चर्को घाम लागेको छ भने २ दिनपछि आÇनै पालभित्र पस्न समेत सकिंदैन । पालभित्र त पहिले कल्पनै नगरिएको हिउँको ‘खाट’ले जन्म लिइसकेको हुन्छ । चीन, जापान, अमेरिका वा युरोपतिर देखिने जस्ता रेल छिर्ने ठूला ठूला सुरुङहरू पनि देख्न पाइन्छन् यो ठाउँमा । हिउँ आफैंले बनाउँदो रहेछ यस्ता सुरुङहरू यो विचित्रको देवभूमिमा । त्यति मात्र होइन, सगरमाथाको आधारशिविरमा त तल तल ससाना हिमालका विरुवा जस्ता थुम्काहरू समेत देख्न पाइन्छन्— नुप्चेको काखमा । साँच्चैका मनमोहक हिमालका विरुवाहरू ∕ कतै लगेर सार्न पाए पनि हुन्थ्यो जस्तो लोभै लाग्ने खालका हुन्छन् यी कलिला हिमालका स–साना विरुवाहरू । आहा, हिउँका विरुवाहरू भएको

ब्याड ∕ कहिल्यै सोच्नुभा’को थ्यो यस्तो ?

आश्चर्य लाग्छ, कसले गर्दो हो यो कलाकारिता ? हेर्दा हेर्दै छक्क परिन्छ— प्रकृति आफैंले किन चाल्दो हो यसरी रोडा, ढुंगा, गिट्टी र बालुवा ? भनिन्छ हिमनदी, तर त्या े प्र कृ तिको कस्तो अद्भुत र उपध्रोकारीशक्ति हो भन्ने कुरो त्यहीँ पुगेपछि मात्र महसुस गर्न सकिन्छ । ‘हिमनदी’ रे— तर कतै देखिंदैन नदी । उही ढुंगा, गिट्टी, र बालुवाका ठूला ठूला पहाडहरूका बीचमा स–साना डोबिल्काहरू देखिन्छन्— नीला नीला । बस, त्यही नै हो हिमनदी । ती ढुंगा, गिट्टी र बालुवाका विशाल विशाल रासहरू त्यही हिमनदीले थुपारेको हो । यति ठूला ठूला थुप्राहरू त नेपालका सबैभन्दा बढी चलेका क्रसर उद्योगहरूले पनि बनाउन सकेका छैनन् । वास्तवमा हिउँले खियाउँदै खियाउँदै लगेर त्यतातिरको जमीनलाई पूरै छ्यान्दो पारिसकेको छ । हिमनदीले बढी खे लाएका ठाउँ को जमीन धमिराका  देवल जस्तो हुँदा हो —म अनु मान मात्र गर्न सक्छु । त्यही भएर त होला नि सगरमाथा चढ्न थाल्दा पनि खुम्बु आइसफल एरियाभरि धेरै जना एकै ठाउँ मा जम्मा हुन, ठूलो भारी बोकेर हिँड्न, चर्को स्वरले बो ल्न र घाम लागे का बे ला हिँ ड् नएक किसिमले भन्नपर्दा अघोषित प्रतिबन्ध नै लगाइएको छ । आफै जमिनमु नि खस्न सक्ने हुनाले, हिमखाल्डाहरू (खरपस) मा पर्न सक्ने हुनाले, देख्दा देख्दै जमिन फाट्न सक्ने हुनाले, पहिरो झर्न सक्ने हुनाले सबै आरोहीहरू श्वास दबाएर सटाक–सुटुक हिड्छन् यो बाटोमा— घाम झुल्किनुभन्दा धेरै अघि नै । यहीं भेटिन्छन्— सगरमाथा आरोहीहरूलाई खरपस छलेर पहाड उक्लन सघाउन हिउँमै भ¥याङ लगाइदिने आइसफल डाक्टरहरू । यी डाक्टरहरू पुराना औजार र उपकरणका भरोसामा आफ्नो जीवन जोखिममा झुण्डाएर भए पनि अरुको लागि बाटो बनाइदिन्छन् । यी आफू विपन्न रहेर पनि त्यो बाटो ‘पार’ गर्ने कसैलाई ‘नाम’ ले र कसैलाई ‘दाम’ ले सम्पन्न बनाइदिन्छन् । यी घाटका माझीहरू हुन् । यिनीहरूले नै सबैलाई तारिदिन्छन् र संकट पनि टारिदिन्छन् । तर आफू भने ‘सिजन’ भरि नै जस्ताको तस्तै यहीं नै रहिरहन्छन् ।

‘खुम्बु आइसफल ∕’
यो संसारकै सबैभन्दा खतरनाक बाटो हो । यहाँको चप्पा चप्पासँग परिचित हुनाले नै उनीहरूलाई ‘आइसफल डाक्टर’ भनिएको हो । आइसफल डाक्टरहरू नहुने हो र उनीहरूले नै दशौं ठाउँमा भ¥याङहरू हालेर हिमखाल्डाहरूबाट नतारिदिने हो भने कसैले पनि सगरमाथाको आरोहण गर्न सक्तैन । पर्दा पछाडिका यी नायकहरू वास्तवमै सधैंका लागि पर्दा पछाडि नै रहे; यो चाँहि बडो दुःखको कुरो भइरहेछ ।

हिमालको अर्को विचित्रको विशेषता हो— सूर्यको रंगमा पूरै नुहाउनु । बिहानी पख जब सम्पूर्ण हिमाली श्रृंखला नै ‘सुन’ को बन्न पुग्छ, त्यो बेलाको जस्तो भव्यतम् दृश्य शायदै संसारमा अरु कुनै हुन्छ होला । विहान सुनको हुनु, दिउँसो चाँदीको हुनु र सूर्यास्तका बेलामा तामाको हुनु हाम्रा हिमालहरूको विशेषता हो । हिमाली क्षेत्रको विहान पूरै सुनको हुन्छ । तर यो अद्भुततालाई हेर्न तपाईं पनि चराभन्दा पहिले नै उठेर हिमाललाई हेर्न तम्तयार रहेको हुनुपर्छ । यस्ता दृश्यहरू दुर्लभ हुन्छन् र ढिलो उठ्नेहरूले कहिल्यै देख्न पाउँदैनन् । “टाइम एण्ड टाइड वेट्स् फर नन् ।” कुरो बुझियो होला केरे ।
बेस क्याम्पतिर पाल टाँगेर सुतेका बेला मध्यराततिर पनि तोप पड्काएको वा गोलाबारीको जस्तो ठूलो आवाज सुन्न पाइन्छ । तर यो विष्फोट र गोलाबारीको आवाज कुनै विद्रोहीले निकालेको आवाज होइन, बरु हिउँको पहिरो गएको हो । हिउँको पहिरो जाँदा हिमालको माथिल्लो भागबाट हिउँको ठूलो ढिस्को खस्छ र एकदमै ठूलो आवाज र धुँवाको मुस्लो निकाल्दै त्यो तल झर्छ । नयाँ मानिसहरूका लागि यो आश्चर्यको कुरो पनि हुन सक्छ । तर बेला बेलामा यस्तो विष्फोट हुनु, हिउँ थुप्रिएर आफैं सुतेको पाल लच्किनु र ओछ्यानमुनिको ‘हिमनदी’ चलेर भूकम्प आए जस्तो भइरहनु ‘हिमालीफेद’ का लागि अति सामान्य र दैनिक जसो भइरहने कुराहरू हुन् ।

सगरमाथाको बेसक्याम्पको रूप पनि स्थायी प्रकृतिको छैन । यो पनि हरेक पल्ट फेरिएको देख्न पाइन्छ । सिंगै सतह १०÷२० मिटर माथि उठ्नु वा तल बस्नु यहाँका लागि सामान्य कुरो हो । माथि उल्लेख भएका ‘हिउँका खम्बा’ को उत्पति र टेण्ट सारिरहनु पर्ने कारणबाट पनि यसको पुष्टि हुने गर्छ । त्यही भएर त बेसक्याम्पको उँचाइबारे भन्नु पर्दा पनि ५३०० मिटरदेखि ५४०० मिटरसम्म भन्ने गरिन्छ । ठ्याक्कै यति मिटर भन्ने नपाइ त्यहाँ त्यही क्षणका लागि मात्र लागू हुन्छ । अर्को दिनको नाप अर्कै भइसकेको हुन्छ । र, अर्को कुरो यो ठाउँमा यति चर्को घाम लाग्छ कि— मानौं घामले छोएको ठाउँमा फोकै पो उठ्ने हो कि जस्तो स्थिति समेत आउँछ । हिउँले पनि डढाउने र घामले पनि डढाउने हुनाले हिमालतिर डुल्न गएर आएका मानिसहरू ‘काला’ भएर फर्केका हुन्छन् ।

चैत बैशाखतिर त सगरमाथाको आधारशिविरमा एक किसिमको ठूलो मेला नै लाग्दछ । दर्जनौँ पर्वतारोहण दलका सदस्यहरूका सयौं किसिमका रंगीचंगी पालहरू, दर्जनौ ं किचनहरू, स्टाफहरूका लागि बनाइने अरु अनेकौं ठूला ठूला पालहरू, शौ चालयका लागि बनाइएका अनेकौं साना–साना पालहरू, फेदीसम्म मात्र यात्रा गर्न आएका अरु पदयात्रीहरूका दर्जनौँ झुण्डहरू, हेलिकोप्टरका े बाक्लो ओहोर–दो होर, अक्सिजन लगायतका अरु अनेकौं आरोहण गियरहरू बेच्न राखिएका दर्जनौँ पसलहरू, गाइड, भरिया, सम्पर्क अधिकृत, सरदार, पर्वतारोही, कुक र अरु पूजाआजामा संलग्न स्थानीयहरूको बाक्लो उपस्थितिले यो मेलाको रूपलाई नै कल्पनातीत बनाएको हुन्छ । कसले कल्पना गरेको हुन्छ र— यो ठाउँमा पनि यस्तो भीड होला भनेर ? कसले अनुमान गरेको हुन्छ र— पाल टाँग्ने ठाउँ समेत पाउन मुश्किल पर्छ भनेर ? कसले पूर्वानुमान गर्न सक्छ र— रंगीचंगी लु्ङ्दर (लु्ङ्ता) ले पूरै फेदीलाई नै बेहुलीलाई झैं सिंगारेको हुन्छ भनेर ?
हो, हिमाल एउटा रहस्य नै हो । यो धर्तीको उत्पति र मानव सभ्यताको विकाससँग जोडिएको एउटा नखुलेको पाटो नै हो । हिमालको अद्भूत छटाको वर्णन हाम्रा वैदिक साहित्यदेखि पुराणहरूसम्म, संस्कृत साहित्यदेखि वर्तमान नेपाली साहित्यसम्म, पौरस्त्य साहित्यदेखि पाश्चात्य साहित्यसम्म र भूगोलदेखि जीवन–दर्शनसम्मका सबै विषयहरूमा गरिएको पाइन्छ । हिमाललाई युगौं अगाडिदेखि नै संसारका सबैतिरका वाङ्मयहरूमा साहस, सौर्य, सुन्दरता, स्थिरता, विचित्रता, अगम्यता, सु्रम्यता, रहस्य, रौद«रम्यता, धैर्य, रोमाञ्च, उच्चता, दुर्लङ्घ्यता, शीतलता र अटलताको बिम्ब, प्रतीक, चिन्ह, उपमा, मिथ आदिका रूपमा चित्रण गर्दै आइएको पाइन्छ । सबैभन्दा धेरै हिमाल नेपालमै छन्— तर यी माथि केन्द्रित भएर सबैभन्दा बढी लेखेका छन्— पश्चिमा विद्वानहरूले । हिमालको सौन्दर्यको केस्रा केस्रा केलाउने काम पश्चिमका कवि÷लेखकहरूले मात्र होइन, फिल्म निर्माता, सामाजिक अनुसन्धाता, आरोही, वैज्ञानिक, विद्यार्थी र विश्वविद्यालयहरू धेरैले गरेका छन् । तर हामीले भने, आफ्नै हिमालका बारेमा समेत थाहै नपाई बसेका छौं । सात समुन्द«पारिका मान्छेहरू आएर यी देवताहरूको निवासस्थलमा चार–चौरास डुलिसकेका छन्— तर हामी नेपालीहरू भने अझै पनि त्यतातिर चासै नराखेरै बस्न सकेका छौं । कठै, कति नबुझेका हौं हामीले ?
यदि हिमाल संसारकै रहस्यको पोको हँदैनथ्यो भने हिंडेरै पोखरीलाई पार गर्न सम्भव हुन्थ्यो होला र ? सफलता र असफलता, संयोग र वियोग, हार र जीत अनि आँसु र हाँसो दुबैको बिम्ब एउटै हिमाल कसरी बन्न सक्थ्यो होला र ? संसारलाई पानी खुवाउने हिमाल— के हामीले महत्व नदिए जस्तै सानो कुरो होला र ? जहाँ एक ‘पाइला’ पनि महंगो हुन्छ— अनि जहाँ प्रत्येक पाइलाले कीर्तिमान रच्छ— इतिहास बनाउँछ— के त्यो ठाउँ— चासो नराखिकन बस्न मिल्ने खालको होला र ?

“स्रष्टाका आँखामा नेपाली पर्वतीय साहित्य” नामक कृतिको आवरणमै त्यसका ले खक ट्रि पल पिएचडीधारी डा. खे मको इराला बन्धुले उल्लेख गर्नु भएको छ— “पश्चिमाहरूले समुद्रमै केन्द्रित भएर साहित्य लेखे, नोबेल पुरस्कारबाट सम्मानित भए र सारा विश्वको ध्यान आफै ंतिर खिँ च्न सफल भए । अरबीहरूले मरुभू मिलार्इ नै साहित्यमा उतार र विश्वव्यापी सम्मान प्राप्त गरे । टापु हुनेहरूले टापुकै कुरो गरे र प्रख्यात भए । तर हामीले चाँहि आफ्नो अमू ल्य सम्पतिको रूपमा रहे को पर्व तर हिमालमा केन्द्रीत भएर ले ख्न सकेनौ,चाहे नौ,लागे नौ,जानेनाैँ। ….. सारा सं सारले गौरवको रूपमा हेर्ने गरे का हिमालयहरू हामीसँगै छन । तर हामी आफ्नै यी विशाल अनि गौरवशाली सम्पदाका बारे मा किन लेख्तै नाै ?”
डा. बन्धुले उल्लेख गर्नु भएको यो सत्य व्यहोराबाट अब हामीले सिक्नै पर्छ । हिमालले हामीलाई पहिचान दियो— अब हामीले पनि हिमाललाई सम्मान दिनै पर्छ ।

पाठक मित्रहरू 
मलाई त अब तपाईंहरूको मात्रै भरोसा छ । तपाईंहरूले नै अब यी ‘सुन’ का थुम्काहरूलाई देख्नुपर्छ, तिनका आङमा टेक्नुपर्छ र फर्की आएर अब तिनैका बारेमा लेख्नुपर्छ । हो, अब हामीले हाम्रै हिमालका शिरमा खादा चढाउनुपर्छ र त्यसको साहस–कथा सारा विश्वलाई पढाउनुपर्छ । हामीलाई यति ठूलो हिमाली श्रृंखलाको उपहार दिने प्रकृतिप्रति निरन्तर अनुगृहित रहँदै अब हामी सबैले मुकुन्दशरण उपाध्यायको यो भक्तिभावलाई सधैं पछ्याउँनै पर्छः–
धन्य तिम्रो कृपा यत्रो सकेछौ पर्वतै दिन
हे विधाता ∕ म चाहन्न यहाँभन्दा धनी हुन …….

प्रकाशित मिति : ५ जेष्ठ २०७५, शनिबार १२:४६