३० बैशाख २०८१, आईतवार | Sun May 12 2024

बेलायती प्रधानमन्त्री जोन्सनद्धारा सोमबारदेखि नियमित काम शुरु


१४ वैशाख, लण्डन । कोरोनाभाइरसबाट सङ्क्रमित भई उपचार गराइरहनु भएका बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले सोमबारदेखि नियमित काम शुरु गर्नुहुने भएको छ । लण्डनस्थित सेन्ट टमस अस्पतालमा उपचार गराएर निको भएकाले उहाँले काम शुरु गर्न तयार हुनुभएको अधिकारीहरुले जनाएका छन् ।

उहाँले मन्त्रिपरिषद्का आफ्ना सहकर्मीहरुलाई सोमबारदेखि सामान्य अवस्थामा झैं काम गर्न थाल्ने बताउनु भएको हो । प्रधानमन्त्री जोन्सनले चिकित्सकहरुको सल्लाह अनुसार नै आफूले नियमित काम गर्न तयारी गरेको पनि जानकारी दिनुभयो । प्रधानमन्त्री जोन्सनले यसअघि अस्पतालको सघन कक्षमा तीन रात बिताउनु भएको थियो । त्यसपछि एक हप्ता सामान्य शैयामा बस्नु भएको थियो ।

सघन कक्षबाट बाहिरिएपछि उहाँले विभिन्न माध्यमबाट अति आवश्यक पर्ने व्यक्तिहरुलाई भेट्ने, कुराकानी गर्ने, छलफल गर्नेलगायतका क्रियाकलाप गर्दै आउनु भएको थियो । प्रधानमन्त्री अस्वस्थ भएर अस्पतालमा रहेका बेला उहाँको अनुपस्थितिमा अधिकांश काम विदेशमन्त्री डोमिनिक राबले गर्दै आउनु भएको थियो ।

कोरोनाभाइरसको सङ्क्रमणबाट अति प्रभावित मुलुकमा पर्ने बेलायतमा कोरोनाभाइरसका कारण अहिलेसम्म २० हजार ३१९ जनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेहरुको संख्या २० हजारभन्दा बढी हुने देशहरुमध्ये बेलायत पाँचौं देश भएको छ । बेलायतभन्दा अगाडी अमेरिका, इटली, स्पेन र फ्रान्समा २० हजारभन्दा बढीको कोरोनाभाइरसका कारण मृत्यु भइसकेको छ । पछिल्लो दुई हप्तामा बेलायतमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या अत्यधिक बढेको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आईतवार १३:४८

https://srdb.com.np/