२९ बैशाख २०८१, शनिबार | Sat May 11 2024

चीनमा २४ घन्टामा भेटिए छ नयाँ कोरोना संक्रमित


१२ वैशाख, बेइजिङ । चीनमा गएको २४ घन्टायता कोरोनाका छ जना नयाँ संक्रमित भेटिएको समाचारमा जनाइएको छ । तीमध्ये चार जना चीनभित्रै संक्रमित भएका व्यक्ति छन् भने अरु दुई जना विदेशबाट चीन गएका व्यक्तिमा देखिएको बताइएको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले सो जानकारी दिएको छ । उक्त आयोगकाअनुसार चीनमा गएको २४ घन्टामा नयाँ मृत्यु भने भेटिएको छैन । उक्त आयोगले देशका ३१ प्रान्तबाट प्राप्त समाचारमा ८२ हजार ८०४ जना कोरोना भाइरसका कारण भएका विरामीको तथ्यांक पाइएको जनाएको छ ।

फाइल फाेटाे

तीमध्ये पछिल्ला केही दिनमा मात्र ९१५ जना विरामी पाइएका छन् । तीमध्येका ५७ जना नागरिक गम्भीर स्वास्थ्य अवस्थामा रहेका पनि पाइएको सो समाचारमा उल्ल्ोख गरिएको छ । साथै चीन सरकारले दिएको सो तथ्यांकमा ४ हजार ६३२ जना नागरिक कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको जानकारी गराएको छ । यहाँका विरामीहरुमध्ये ७७ हजार २५७ जना विरामी निको भएर घर फर्किएका छन् ।
साथै चीनको उक्त स्वास्थ्य आयोगले पछिल्ला दिनहरुमा चीनको हुबे प्रान्तको उहान शहरमा कोरोना भाइरसका नयाँ विरामी भेटिएका छैनन् भनेको छ ।

त्यसैगरी उता हङकङमा १ हजार ३५ जना नागरिक यस भाइरसबाट संक्रमित भएको बताइएको छ । त्यहाँ यस महामारीबाट ४ जनाको मृत्यु भएको जनाएको छ । विश्व स्वास्थ्य संगठनले गत मार्च ११ मा यस भााइरसको प्रकोपलाई महामारी भनेको थियो । अहिलेसम्म यस भाइरसबाट कम्तीमा पनि २७ लाख नागरिक संक्रमित भएका छन् । अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयले दिएको जानकारीअनुसार यस प्रकोपबाट संसारका २०० भन्दा बढी देशमा कम्तीमा पनि १ लाख ९० हजार जनाको ज्यान गएको बताइएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७७, शुक्रबार १७:२५

https://srdb.com.np/