७ जेष्ठ २०८१, सोमबार | Tue May 21 2024

उहानको लकडाउन समाप्त, सडकमा मानिसको भीड


२६ चैत, उहान । कोरोनाभाइरसको महामारी फैलिएपछि चिनियाँ शहर उहानमा दुई महिना भन्दा बढी घरभित्रै बस्न बाध्य टोङ झेङकुन बुधबार ७६ दिनको बन्दाबन्दी (लकडाउन) खुलेसँगै सडकमा निस्किएका लाखौं चिनियाँमध्ये एक हुनुहुन्थ्यो । “म ७० दिनभन्दा बढी समयदेखि घरबाहिर निस्किएको थिइनँ,” भावुक मुद्रामा झेङकुनले बताउनुभयो । शहरको मध्यभागबाट बग्ने विशाल याङ्जी नदीको पुलबाट शहरको झिलिमिली नियाल्न आइपुग्नु भएका झेङकुन अनायाश भावुक हुनु भएको थियो । “यति धेरै दिन घरभित्र बस्दा म पागलझैं भएको थिएँ ।”

झण्डै १ करोड १० लाख मानिसको बसोबास रहेको उहानका सडकहरू एकाएक सवारी साधनले भरिएका थिए भने बिमानस्थल, रेल र बस स्टेशनहरूमा लामालामा लाइन देख्न सकिन्थ्यो । उहानबाट आफ्ना घर फर्कन चाहने तथा अन्यत्रै काम गर्ने हजारौं मानिस सबेरै यहाँ भेला भएका थिए । सडकका ठाउँठाउँमा राखिएका पहेँला अवरोधहरू हटाइएका थिए । यद्यपि आवासीय घरहरुका ढोकामा सुरक्षा पहरा अझै राखिएको छ । टोङले आफ्नो अपार्टमेन्ट कम्प्लेक्सका बासिन्दालाई भाइरस देखिएपछि अरु मानिसको आउजाउका लागि बन्द गरिएको थियो ।

छिमेकी कामदारहरुले ती कठिन दिनहरुमा खानेकुरा ल्याइदिने गरेको टोङले सम्झिए । शहर बन्द भएपछि त्यस्ता उपायहरू अपनाउनुको विकल्प थिएन । शहरमा भाइरसको प्रकोप बढेसँगै अस्पतालमा मानिसको भिड देखिन थालेपछि जनवरी २३ देखि उहानमा लकडाउन शुरू भएको थियो । विद्यालयहरू अझै बन्द छन्, भवनमा प्रवेश गर्नेक्रममा सबै मानिसको शरीरको तापक्रम जाँचिन्छ र मास्क लगाएर मात्र खुला ठाउँमा जान कडा नियमहरु जारी गरिएका छन् । शहरको नेतृत्वले सामाजिक र व्यावसायिक जीवन फिर्ता ल्याउने सन्दर्भमा कोरोनाभाइरसको दोस्रो संक्रमणको खतरालाई विचार गरेको बताएका छन् ।

तैपनि, यात्रा गर्न पाउनु पनि ठूलो राहत हो । बिमान र रेलद्वारा बुधबार मात्र ६५ हजार भन्दा बढी मानिस आआफ्ना गन्तव्यतर्फ लाग्ने अपेक्षा गरिएको छ । उहानका बासिन्दाहरूलाई अब कुनै आधिकारिक अनुमति बिना यात्रा गर्न पाउने छुट दिइएको छ तर सबैले मोबाइलमा स्वास्थ्य विवरण अनिवार्य रुपमा अद्यावधिक गर्नु पर्नेछ । यसबाट व्यक्तिको पछिल्लो स्वास्थ्य अवस्थाका बारेमा जानकारी प्राप्त गर्न र अनुगमन गर्न सरकारी निकायहरुलाई सहज हुनेछ ।

लकडाउन खुलेसँगै पुल, सुरुङ र राजमार्गका टोल बुथहरूमा सवारी साधन र मानिसको भिड देखिन केही समय लागेन । मानिसहरु घुम्न, बाहिर निस्कन र शहर छाड्न कति आतुर थिए भन्ने यसैबाट देखिन्थ्यो । जिल्ला प्रहरी प्रमुख यान सियाङशेङका अनुसार करिब एक हजार सवारी साधन त मध्यरातमा उहानको सिमानाको व्यस्त राजमार्ग टोल बुथबाट बाहिरिएका थिए । बिमानस्थलका अधिकारी लोउ ग्वेइका अनुसार एमयु२५२७ ले उहान तियान्हे अन्तर्राष्ट्रिय एयरपोर्टबाट बिहान ७.२५ बजे नै हैनान प्रान्तको तटीय शहर सान्याका लागि पहिलो उडान भरेको थियो । यो शहर समुद्री बीचहरुका लागि प्रख्यात छ ।

“चालक दलले उडान अवधिभर चश्मा (गगल्स), मास्क, र पञ्जा लगाउने छन्,” चीफ उडान कर्मचारी गुओ बिन्क्सुलाई उद्धृत गर्दै सिन्ह्वा समाचार एजेन्सीले जनाएको छ । “यो धेरै सहज हुनेछ किनकि हामीले यस उडानका लागि धेरै तयारी गरेका थियौं ।”बिमानस्थलमा चेन यातिङले आफूलाई सुरक्षित राख्न थप व्यवस्था गर्नु भएको थियो । उहाँले सेतो सुरक्षा कवज पहिरिनुका साथै ग्लोभ्स, मास्क र बेसबल टोपी लगाउनु भएको थियो । उहाँ दक्षिणी शहर ग्वान्झाउतर्फ उड्ने तयारीमा हुनुहुन्थ्यो । “हामी एक राम्रो युगमा बाँचिरहेका छौं,” चेनले भन्नुभयो, “आजको यो उपलब्धि त्यति सजिलो थिएन ।”

चीनमा भेटिएका कूल संक्रमितमध्ये यही शहरमा मात्र ८२ हजारभन्दा बढी हुनुका साथै ३ हजार ३०० भन्दा बढीको मृत्यु भएको थियो । यहाँ नयाँ संक्रमितको संख्या निरन्तर घट्दै गएको छ । सरकारले बुधबार शहरमा कुनै नयाँ घटना नदेखिएको जनाएको छ । कोरोनाभाइरस सम्बन्धी चीनको गणनाको सत्यताका बारेमा प्रश्नहरू गरिए पनि उहान र हुबेको अभूतपूर्व लकडाउन सफल भएको छ र यही विधि विश्वका अन्य देशले पनि अपनाउन थालेका छन् ।

“उहानका मानिसहरूले धेरै नै संकट झेले र उनीहरुमा मानसिक र मनोवैज्ञानिक असर पनि परेको थियो,” स्थानीयबासी झाङ सियाङले बताउनुभयो । “उहानका मानिसहरु आफ्नो दृढ इच्छाका लागि अब विश्वभर नै चिनिने भए ।”लकडाउनको अवधिमा उहानका बासिन्दाहरूले खाना किन्न वा बिल्कुलै आवश्यक मानिने अन्य कार्यहरूमा भाग लिन मात्र आफ्नो घर छोड्न पाउँथे । केहीलाई शहर छोड्न अनुमति दिइएको थियो, तर उनीहरूसँग कोरोना संक्रमण नभएको बलियो प्रमाण हुनु आवश्यक थियो । उनीहरुले कहाँ र किन जान लागेको भन्ने सरकारी प्रमाण पनि साथमै राख्नु पर्दथ्यो । त्यसपश्चात पनि अधिकारीहरूले उनीहरूलाई चिठीमा छाप छैन भन्दै फिर्ता पठाउन सक्थे ।

हुबे प्रान्तकै अन्य भागका बासिन्दाहरूलाई तीन साता पहिले उहानबाट बाहिर जान खुला गरिएको थियो । तर उनीहरुले पनि आफू स्वस्थ रहेको प्रमाण पेश गर्नु पर्ने व्यवस्था गरिएको थियो । शहर छोड्ने मानिसहरूले अन्तिम गन्तव्यमा पुग्नेक्रममा धेरै किसिमका चुनौती पार गर्नुपर्ने हुन्थ्यो, जस्तै १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने तथा न्यूक्लिक एसिड परीक्षण गर्नु पर्दथ्यो ।

उहान शहर ठूलाठूला उद्योगका लागि प्रमुख केन्द्र हो, विशेषगरी सवारी साधन यहाँ उत्पादन हुने गर्दछन् । धेरैजसो प्रमुख प्लान्टहरुले उत्पादन पुनः सुरु गरेका भए पनि धेरै मानिसलाई रोजगारीको अवसर सिर्जना गर्ने साना र मझौला व्यवसायहरू संघर्षरत छन् किनभने यस्ता उद्यमका उत्पादनको माग अहिले ह्वात्तै घटेको छ । उहान नगर सरकारका अनुसार यस्ता उद्यम व्यवसायका लागि सरकारले २० अर्ब युआन (२ अर्ब ८० करोड डलर) को प्राथमिकताप्राप्त ऋणको व्यवस्था गरेको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार १५:१८