११ जेष्ठ २०८१, शुक्रबार | Fri May 24 2024

कोरोना कहरः विश्वभर ५५ सयको ज्यानगयो, १३५ भन्दा बढी मुलुक प्रभावित


२ चैत्, काठमाडाैँ । चीनमा गत वर्षको डिसेम्बरमा पत्ता लागेको कोरोना भाइरसको प्रभाव सुरूमा केही एशियाली मुलुकमा देखिए पनि पछिल्ला दिनहरूमा आइपुग्दा यूरोप हुँदै अमेरिकासम्म पुगेको छ ।

कोभिड–१९ को सङ्क्रमणका कारण शनिबारसम्म पाँच हजार ५४७ व्यक्तिको मृत्यु भइसकेको छ । यसमध्ये सबैभन्दा बढी चीनमा तीन हजार १७६ व्यक्तिको मृत्यु भएको छ भने पछिल्ला केही दिनमा चीनमा नयाँ व्यक्तिमा सङ्क्रमण र मृत्यु दर लगभग नियन्त्रणको नजिक पुगेको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जानकारी गराएको छ ।

शनिबारसम्ममा कोरोना भाइरसको सङ्क्रमण १३५ भन्दा बढी मुलुकमा पुष्टि भइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । चीनपछि बढी प्रभावित मानिएको इटली र इरानमा सङ्क्रमणका कारण क्रमशः एक हजार २६६ र ६११ व्यक्तिको मृत्यु भएको छ । केही समय पहिले चीनको वुहान सहर कोरोना भाइरसको केन्द्रविन्दु मानिएको थियो तर प्रभावितहरूको सङ्ख्या निकै वृद्धि भएपछि विश्व स्वास्थ्य संगठनले हालको अवस्थामा यूरोपलाई सङ्क्रमणको केन्द्रविन्दु मानेको छ ।(रासस/एएफपी)

प्रकाशित मिति : २ चैत्र २०७६, आईतवार ०८:१७