३ मंसिर २०८३, बुधबार | Thu Nov 19 2026

म्याग्दी भ्रमण वर्ष २०७५ आइतबारदेखि शुरु (फोटोफिचर)

https://www.muktinathbank.com.np/online/loan-application

३१ वैशाख, म्याग्दी । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आइतबारदेखि म्याग्दी भ्रमण वर्ष २०७५ शुरु भएको छ । प्राकृतिक, ऐतिहासिक, सांस्कृतिक र पौराणिक महत्वका सम्पदाको पहिचान, संरक्षण, पूर्वाधार विकास र प्रचारप्रसार गरेर स्वदेशी तथा विदेशी पर्यटक आगमन वृद्धि गर्ने उद्देश्यले म्याग्दी उद्योग वाणिज्य संघले स्थानीय तह र संबद्ध सरकारी निकायसँगको सहकार्यमा भ्रमण वर्षको शुभारम्भ गरेको संघले जनाएको छ ।

म्याग्दीमा धौलागिरि, अन्नपूर्ण चक्रीय पदमार्ग, अन्नपूर्ण धौलागिरि सामुदायिक पदमार्ग, गुरिल्ला, धौलागिरि आइसफल, धौलागिरि सेञ्चुरी, पश्चिम धौलागिरि, अन्नपूर्ण आधार शिविर, तातोपानी कुण्ड, घोडेपानी, खोप्रा, मोहोरडाँडा, टोड्के, रुइसे, संसारकै गहिरो अन्धगल्छीलगायत दर्जनाँै पर्यटकीयस्थल छन् ।

भ्रमण वर्षको बेनीमा उद्घाटन गर्दैै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले म्याग्दीलाई ‘टे«किङ रुटको राजधानी बनाउने’ घोषणा गर्दै पदमार्ग निर्माणमा प्राथमिकता दिने बताए ।

गत आव २०७३÷७४ मा ७० हजार विदेशी पर्यटकले भ्रमण गरेको म्याग्दीमा भ्रमण वर्षको अवसरमा दोब्बर पर्यटक भित्र्याउने लक्ष्य राखिएको संघका महासचिव लिलाराम गौतमले बताए ।

भ्रमण वर्षको अवसरमा कालीपुलमा बेनी नगरपालिकासँगको सहकार्यमा पर्यटकको तथ्याँक राख्ने र धार्मिक तथा पर्यटकीयस्थलका बारेमा जानकारी प्रदान गर्ने उद्देश्यले डिजिटल (विद्युतीय) सूचना केन्द्र सञ्चालनमा ल्याएको द्धितीय उपाध्यक्ष राजेश शाक्यले बताए ।

कार्यक्रममा प्रदेश ४ की सामाजिक विकासमन्त्री नरदेवी पुन, प्रतिनिधिसभा सदस्य भूपेन्द्र थापा, प्रदेशसभा सदस्य विनोद केसी, जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसी, बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ र मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले म्याग्दीलाई हिमाली जिल्लामा सूचीकृत गर्नुपर्ने विचार व्यक्त गरे ।

म्याग्दीको पर्यटन विकासका लागि पदमार्ग निर्माण, होटल तथा लज, सुरक्षा र लगानीमैत्री वातावरणको आवश्यकता रहेको नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले बताए ।

तस्बिरः सन्तोष गौतम

भ्रमण वर्षलाई औपचारिक कार्यक्रममा मात्र सीमित नराखी प्रचारप्रसार र पूर्वाधार विकासमा लगानी भित्र्याउने अवसरका रुपमा उपभोग गर्नुपर्ने सरोकारवालाले बताएका छन् ।

प्रकाशित मिति : May 14, 2018 at 7:32 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/